विदेशबाट फर्किएकाको अभिलेख राख्न निर्देशन – Himalayan Dainik

विदेशबाट फर्किएकाको अभिलेख राख्न निर्देशन


विदेशबाट फर्किएकाको अभिलेख राख्न निर्देशन

काठमाडौँ, १० चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथामका लागि विदेशबाट फर्केका नागरिकको अभिलेख वडास्तरमै राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । साथै, मन्त्रालयले विदेशबाट फर्किएका नागरिकको अभिलेख मन्त्रालयमा दैनिक पठाउन निर्देशन जारी गरेको छ ।

मन्त्रालयले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउन सबै स्थानीय तहलाई निर्देशन दिँदै जनताको नजिकको सरकारका रूपमा रहेको स्थानीय तहलाई आवश्यक समन्वय गर्न आग्रहसमेत गरेको छ । मन्त्रालयले आइतबार पत्राचार गर्दै ७५३ वटै स्थानीय तहका छ हजार ७४२ वटै वडामा विदेशबाट फर्किएका नागरिकको निगरानी, रेखदेख र सोको सङ्ख्यात्मक विवरण दैनिक रूपमा मन्त्रालयमा प्रतिवेदन पठाउन सबै प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन गरेको हो ।

कोरोना भाइरस सङ्क्रमण हुन नदिन मन्त्रालयले सामाजिक, सांस्कृतिक कार्यका लागि मठ, मन्दिर, गुम्बा, चर्च, पार्टी प्यालेस लगायतका सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुन नदिन सुझाएको छ । यसैगरी सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, जिम केन्द्र, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल र डान्सबारजस्ता भीडभाड हुने स्थान चैत मसान्तसम्म बन्द गराउन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।