कोरोंना विरुद्धको साबधानी : बिना काम घर बाहिर निस्कनेलाई अष्ट्रियामा ३६ सय युरो जरिवाना – Himalayan Dainik

कोरोंना विरुद्धको साबधानी : बिना काम घर बाहिर निस्कनेलाई अष्ट्रियामा ३६ सय युरो जरिवाना


कोरोंना विरुद्धको साबधानी : बिना काम घर बाहिर निस्कनेलाई अष्ट्रियामा ३६ सय युरो जरिवाना

एजेन्सी, ५ चैत – विश्वमा अहिले कोरोना भाइरस संक्रमणको सबैभन्दा डरलाग्दो संकटको सामना गरिरहेको युरोपेली मुलुक इटालीसँग सिमाना जोडिएको देश अष्ट्रियामा समेत कोरोना भाइरस संक्रमण तिव्र रुपमा बढिरहेको छ । हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १३ सय ३२ पुगिसकेको छ भने ४ जनाको मृत्यु भैसकेको छ ।

संक्रमितको संख्या ३ दिनमा दोब्बर हुने गरी उच्च दरमा बढेसँगै गम्भीर अवस्था सिर्जना भएको ठहर गर्दै अष्ट्रियामा सरकारले विशेष नियम लागू गरेको छ । ‘अउसगाङ्ग स्प्येरे’ भनिने उक्त नियम अनुसार मानिसहरुलाई विनाकारण घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

यद्यपि कतिपय युरोपेली मुलुकमा जस्तो अष्ट्रियालमा आपतकालीन अवस्थाको घोषणा गरिएको भने होइन । भाइरस संक्रमण तथा फैलावट रोक्नका लागि सार्वजनिक गतिविधिमा रोक लगाइएको र मानिसहरुलाई घरभित्रै बस्न सरकारले आग्रह गरेको छ । अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएको पाइएमा पुलिसले पक्राउ गर्न सक्ने र ३६ सय युरो सम्म जरिवाना लगाउने नियम लागू भएको छ ।

खाद्यान्न पसलहरु, स्वास्थ्य संस्था तथा औषधि पसल तथा हुलाक लगायतका सेवाप्रदायक निकाय बाहेक सबै व्यापार व्यवसाय बन्द गराइएको छ । शिक्षण संस्थाहरु समेत आगामी अप्रिल मध्य सम्मका लागि बन्द गरिएको छ र विद्यार्थीहरुका लागि घरमै बसेर अनलाइनबाट पढ्न सक्ने व्यवस्था मिलाइएको छ ।

कुनै पनि सरकारी कार्यलय, अस्पताल र सार्वजनिक स्थलमा सिधै प्रवेश गर्ने अवस्था छैन । सामान डेलिभरी गर्नेहरुले ढोका बाहिर नै सामान दिनुपर्ने र भित्र छिर्नुपर्ने ठाऊँमा विभिन्न नियमहरु पालना गरेर मात्रै छिर्र्नेे व्यवस्था गरिएको छ ।

के छ अहिलेको नियममा ?

  • दैनिक जीवनको आधारभूत आवश्यकताहरू उदाहरणका लागि खाद्य सामाग्री किनमेल, फार्मेसी, बैंक एटिएम मसिन, चिकित्सकीय उपचार, घरपालुवा जनावरहरुको हेरचाहमा संलग्न कर्मचारी/कामदार तथा उपभोक्ताहरु मात्र घरबाहिर निस्कन पाउँछन् ।
  • घरबाहिर जाने ५ जनाभन्दा धेरै व्यक्तिहरु एउटै समूहमा बस्न नपाइने । आफ्नै परिवारको व्यक्तिसँग बाहेक अरुसंग संगै हिँड्न पनि नपाउने । सडकमा हिँड्दा एक मिटरको दूरी कायम गर्नुपर्ने ।
  • जिम सेन्टर, सिनेमा, शारीरिक स्वास्थ्य क्लव, सार्वजनिक स्विमिङ्ग पूल, कपडा पसल तथा सपिङ्ग मल सबै बन्द गरिएका छन् । मंगलबारदेखि सम्पूर्ण रेष्टुरेन्ट तथा बारहरु पनि बन्द छन् ।
  • कोरोना भाइरससँग सम्बन्धित कार्यमा बाहेक कुनैपनि कृयाकलापमा ५ जना भन्दा धेरै एक ठाउँमा जम्मा हुन प्रतिवन्ध ।

 अष्ट्रियाको सरकारले गरिरहेका कार्यहरु 

अष्ट्रियाको संसदले कोरोना भाइरससँग सम्वन्धित दुईवटा विशेष कानूनहरु आइतबार नै पारित गरेको छ । जसले सरकारलाई कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि विशेष योजना लागू गर्नें अधिकार प्रदान गरेको छं । अष्ट्रियाको इतिहासमा पहिलो पटक आइतबार बिदाको दिनमा समेत संसद बैठक बसेको थियो । सरकारले आपतकालीन व्यवस्थापन कोष  र कोरोना फैलिन नदिन छुुट्टै नियम सहितको संघीय कानून  पारित गरेको छ ।

अष्ट्रियन सरकारको यस नियमलाई देशबासीहरुले “अउसगाङ्ग स्प्येरे“ भनेर बुझ्दछन् । आपतकालीन कोषमा कोरोना भाइरससंग सुरक्षित रहने, उपचार गराउने, क्वारेन्टाइनमा बस्ने लगायत कोरोना भाइरसका कारण छुट्टीमा बसेकालाइ तलव खुवाउनका लागि आवश्यक रकम समेतको व्यवस्था छ ।

अष्ट्रिया सरकारले देशका कुनै पनि कम्पनीले कोरोनाको कारण देखाएर कामदारलाई कामबाट निकाल्न नपाउने नियम बनाएको छ । तर, पनि कोरोनाको प्रभावले धेरै कम्पनीहरु, संस्थाहरु र कार्यलयहरु बन्द भएपछि बेरोजगारहरुको संख्या अत्यधिक बढ्न पुगेको छ ।

आपतकालीन कोषको रकम ४ अर्ब युरो रहेको छ । अष्ट्रियाको प्रतिपक्षी दलले उक्त रकम कम भएको भनी गुनासो गरिरहेका बेला संसदमा बहुमतले सो कोषको प्रावधान पारित गरेको हो ।

आम मानिसहरुबीच सामाजिक दूरी कम गर्न तथा भेटघाट कम गर्नका लागि सरकारले आव्हान गरिरहेको छ । प्रधानमन्त्री (चान्सलर) सेवेस्टियन कुर्जले हरेक दिन सम्बोधन गर्ने र सरकारका नयाँ नीतिहरु सार्वजनिक गर्ने गरेका छन् । साथै उनले टेलिभिजन र रेडियो मार्फत टेलिफोनबाटै जनताका प्रश्नको जवाफ दिँदै उत्साह पैदा गरिरहेका छन् ।

अष्ट्रियामा विगत ५ वर्ष भित्रमा नागरिक सैन्य तालिम लिएका युवाहरुलाई राज्यको सेवा गर्न स्वयं सेवकको रुपमा खटाइएको छ । ती स्वयंसेवकहरुले खाद्यान्न पसलहरुमा सामान ओसार्ने र राख्नेदेखि घरघरमा क्वारेन्टाइनमा बसेकाहरुलाई खानेकुरा पुर्‍याउने सम्मको काममा खटाइएको छ ।

अष्ट्रिया सरकारले छुट्टि मनाउन तथा काम विशेषले देश बाहिर रहेका नागरिकहरुलाई जतिसक्दो छिटो सुरक्षित फिर्ता हुन अथवा सुरक्षाको विकल्प अपनाउन सूचना जारी गरेको छ ।

आफ्ना नागरिकहरुलाई चीनको हुबेई प्रान्त, फ्रान्स, इरान, इटाली, नेदरल्याण्ड, रूस, स्वीटजरल्याण्ड, स्पेन, दक्षिण कोरिया, युक्रेन र बेलायतको यात्रा नगर्न अनुरोध गरेको छ ।

सोमबारदेखि फ्रान्स, स्पेन र स्वीटजरल्याण्ड जाने हवाइ र रेलसेवा बन्द गरेको छ । बुधबारदेखि युके, रसिया, नेदरल्याण्ड, युक्रेनको सेवा बन्द हुनेछ । उक्त देशबाट अष्ट्रिया आउने यात्रुहरुले अन्य देशको हवाइसेवा उपयोग गर्न भनिएको छ ।

छिमेकी मुलुकहरु चेक रिपब्लिक, हंगेरी, क्रोएसिया, इटाली र स्वीजरल्याण्डसँगका सबै सीमाना बन्द गरिएको छ भने जर्मनीसँगको सिमाना आंशिक रुपमा खुल्ला छ । डेनमार्कले झण्डै एक हप्ताअघि नै हवाई सेवा बन्द गरेको छ ।

अष्ट्रियामा वैधानिकरुपमा बस्दै आएकाहरुका लागि संकटका बेला जीवनयापन र बेरोजगारी योजना सरकारले ल्याएको भएता पनि कागजपत्र नभएका अर्थात् अवैधानिक रुपमा बसिरहेका मानिसहरुलाई पर्न सक्ने आर्थिक समस्यालाई चाहिँ सरकारी योजनाले समेटेको छैन ।

तथापि, कामकाज गुमाएर समस्यामा परेका त्यस्ता मानिसहरुको सहयोगका लागि रेडक्रस, कारितास र डायकोनी जस्ता संस्था तथा क्लवहरुले विभिन्न कार्यक्रम सुरु गर्न लागेको अष्ट्रियन मिडियाहरुले लेखेका छन् । तर, कोरोनाको परीक्षण तथा उपचारमा भने सरकारले कागजपत्र भएका र नभएकालाई कुनै भेदभाव नगरी समानरुपले आवश्यक सहयोग गर्ने जनाएको छ ।

सरकारले हाल लागू गरेको नियम एक हप्ताको लागि मात्र हो । कोरोना भाइरस संक्रमणको अवस्था चर्किँदै गएको अवस्थामा आगामी हप्ताबाट नियममा झनै कडाइ गर्ने वा देशव्यापी रुपमा आपतकालको घोषणा हुनसक्ने प्रवल सम्भावना रहेको सञ्चार माध्यमहरुले जनाएका छन् ।