चारचोटि मतदान, छानिएन नाम – Himalayan Dainik

चारचोटि मतदान, छानिएन नाम


चारचोटि मतदान, छानिएन नाम

धनुषा, ५ चैत – प्रदेश २ को प्रस्तावित चार नाममा मंगलबार मतदान भए पनि छिनोफानो हुन सकेन । सत्तापक्ष समाजवादी र राजपा, प्रतिपक्ष नेकपा, कांग्रेस र पर्साका सांसद राजेश्वरप्रसाद साहले प्रदेशसभामा दर्ता गरेका छुट्टाछुट्टै प्रस्तावमा दुई तिहाइ बहुमत नजुटेको हो ।

समाजवादी र राजपाले मधेस, नेकपाले जानकी, कांग्रेसले मिथिला–भोजपुरा र पर्साका सांसद राजेश्वरप्रसाद साहले मध्य मधेस प्रस्ताव गरेका थिए । गोप्य मतदानबाट ती सबै अस्वीकृत भएका छन् । सत्तापक्षले प्रतिपक्षी सांसदबाट बढी ‘भोट क्रस’ हुने अपेक्षा गरेको थियो । तर नेकपा र कांग्रेसले सांसदलाई ह्वीप जारी गरेपछि नामकरण अनिर्णीत भयो ।

नेकपा संसदीय दलको बैठकमा सांसदलाई पार्टीको झन्डा छोएर कसम खुवाउँदै मतपत्र खसाल्नुअघि पार्टीका अर्का सांसदलाई देखाउन ह्वीप लगाइएको थियो । नेकपाले पार्टीको ह्वीप नमान्न सक्ने सांसदहरुको सूची नै तयार पारेर उनीहरुको पछाडि अर्को सांसद खटाएको थियो । नेकपाले मतपत्र खसाल्नुअघि अर्कोलाई देखाउन भनेपछि विवादसमेत भएको थियो । संसदीय दलको बैठकमा सहभागी एक सांसदका अनुसार नेकपाका सांसद दिलीप साहले मधेस प्रदेश प्रस्तावको पक्षमा मतदान गर्न पाउनुपर्ने माग गरेका थिए । संसदीय दलभित्र छलफल नै नगरी जानकी प्रदेशको प्रस्ताव दर्ता गराएको भन्दै उनले विरोध गरेका थिए ।

ह्वीप जारी भएपछि सांसद दिलीप साहले नेकपाकै अर्की सांसद किशोरी साहलाई मतपत्र देखाउँदै मतपेटिकामा खसालेका थिए । सत्तापक्षको प्रस्तावमा कांग्रेसले आफ्ना सांसदहरुलाई प्रदेशसभाभित्रै घेरेर मतदान गर्न लगाएको थियो । सांसदहरुलाई आलोपालो ल्याएर मतदान गराइएको थियो । यो समाचार आजको कान्तिपुरमा छ ।