प्रदेश २ को नाम र स्थायी राजधानीका लागि मतदान हुँदै – Himalayan Dainik

प्रदेश २ को नाम र स्थायी राजधानीका लागि मतदान हुँदै


प्रदेश २ को नाम र स्थायी राजधानीका लागि मतदान हुँदै

काठमाडौं, ४ चैत –  प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी आज टुंगो लगाइँदै छ । त्यसका लागि प्रदेश सभाको बैठक बिहान ८ बजे नै बोलाइएको छ ।

नाम र राजधानीको टुंगो गोप्य मतदानबाट लगाइने सभामुख सरोज कुमार यादवले बताउनुभयो । उहाँका अनुसार मतदान सुरु हुनुअघि सांसदहरुलाई बोल्न दिइने छ । बोल्न चाहने सांसदलाई ५ मिनेटको समय उपलब्ध गराइनेछ । छलफल सकिएलगत्तै मतदान हुने सभाुमख यादवले बताउनुभयो । यसका निम्ति सबै तयारी भइसकेको उहाले बताउनुभयो ।

प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै राख्ने विषयमा यसअघि नै सहमति भइसकेको छ । यद्यपि नामको विषयमा सहमति हुन सकेको छैन । प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र संघीय समाजवादीको एक सिट छ । नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भएपनि यो कुनै दलसँग छैन ।

यसअघि नाम र राजधानी सहमतिमै टुंगो लगाउन र प्रस्तावमाथि छलफल गर्नका लागि प्रदेशसभाको बैठकबाट सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय विशेष समिति गठन गरिएको थियो ।