प्रम ओलीको राजीनामा मागे, पाँच वर्ष सत्ताको जिव्रो नपड्काए हुन्छ : सांसद बस्नेत – Himalayan Dainik

प्रम ओलीको राजीनामा मागे, पाँच वर्ष सत्ताको जिव्रो नपड्काए हुन्छ : सांसद बस्नेत


प्रम ओलीको राजीनामा मागे, पाँच वर्ष सत्ताको जिव्रो नपड्काए हुन्छ : सांसद बस्नेत

भक्तपुर, २ चैत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सूर्यविनायक नगरपालिका र सांसद विकास कोषबाट विनियोजित रु वीस लाख र श्री शान्ति भैरव महिला समुहद्वारा सप्ताह लगाएर सङ्कलित रु पन्ध्र लाखको लागतमा आज सूर्यविनायक नगरपालिका वडा नं. ९ लाभाडोलमा सूर्यविनायक बहुउध्देश्य सामुदायिक भवन निर्माण कार्यको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले   आफुलाई कथित फेसबुके नेता भन्नेहरुले प्रधानमन्त्रीलाई राजीनामा दिनुपर्छ भनेर भनेको भन्दै आक्रोस व्यक्त गर्नुभयो । हिजो राप्रपाका अध्यक्ष पशुपति शमशेरले प्रधानमन्त्री ओलीले राजीनामा दिएर आराम गर्नुपर्ने अभियव्यक्ति दिनुभएको थियो ।

जनताले तिरस्कार गरेका व्यक्तिले एउटा कालो कोठामा वसेर जुन सड्यन्त्र गर्ने प्रयत्नहरु गरिरहेका छन् त्यो तर्फ आम नागरिक सचेत हुनुपर्छमा जोड दिँदै उहाँले भन्नुभयो, ‘सक्नु हुन्छ भने जनतालाई विश्वास गरी चुनावबाट जितेर देखाउनुहोस्, अनि सत्ता सञ्चालन गर्नुहोस्, हामी फुलमाला लगाएर स्वागत गर्छौ । यो मुलुकको लोकतन्त्रलाई धराप पार्ने, अस्थिरता ल्याउने, अशान्ति ल्याउने, मुलुकको हित नचाहने, राम्रो काम गर्नेलाई घेराउमा राख्ने र अनेक प्रकारका प्रोपकाण्डाहरु गरी मुलुकको हित नचाहने फेरी एक जुट हुने प्रयास गर्दै मुलुकलाई अन्धकारको यात्रामा अघि बढाउने कुचेष्ठा गरिरहेका छन् ।’

उहाँले प्रधानमन्त्री ओलीको दृढ संकल्प तथा मुलुक बदल्ने संकल्पलाई आम नेपालीले साथ दिनु जरुरी रहेको औंल्याउनुभयो । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी १२ दिनको अस्पताल बसाई पछि शुक्रवार डिस्चार्ज हुनुभएका प्रधानमन्त्रीले हिजो नै नेकपाका अध्यक्ष पुष्प कमल दाहाल, बरिष्ठ नेता माधब कुमार नेपाल, उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, नेकपाको महासचिव विष्णु पौडेल तथा आफ्नो सचिवालका कर्मचारीसँग वसी कोरोना लगायतका विभिन्न विषयमा पछिल्लो समयको बारेमा जानकारी लिनुभएको समेत उहाँले जानकारी गराउनुभयो ।

आफ्नो बचनमा प्रतिवद्ध रहेको जानकारी गराउँदै उहाँले उक्त रकमको व्यवस्था गरेको जानकारी गराउनुभयो । उक्त भवन पूर्ण नभएसम्म निरन्तर रुपमा साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उहाँले नंखेलमा सामुदायीक भवन, सडक, पुल तथा खानेपानीको व्यवस्थापन जनताको चाहना अनुसार दिन प्रतिदिन पुरा हुँदै गएको स्पष्ट पार्नुभयो ।

कोरोना भाइरसको आतंकबाट आतंकित हुने नभई सजक र सर्तक हुनुपर्नेमा जोड दिँदै उहाँले कोरोनाकै कारण विश्वको धेरै ठूलो समस्या सिर्जना हुने अवस्थामा पुगे पनि नेपालमा भने कोरोनाले संक्रमण नभएको बताउनुभयो । जनताको सचेतता र सरकारको तदारुकताकै कारण नेपालमा कोरोना अहिलेसम्म भित्रन नसकेको समेत स्पष्ट पार्नुभयो ।

कोरोना नेपालमा भित्र्न नदिने केपी ओलीले विशेष समिति गठन गरेको जसले ठूला ठूला कार्यक्रम, भोज भतेर, विदेश भ्रमणमा नजाने लगायतका कुराहरु नगर्न आग्रह गरेको जानकारी गराउँदै उहाँले कोरोनाकै कारण मुलुकमा सरकारले कालोबजारी नियन्त्रण गर्न विभिन्न प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो ।