व्यक्तिविशेषका कारण सेयर बजार प्रभावित हुन हुँदैन : मन्त्री खतिवडा – Himalayan Dainik

व्यक्तिविशेषका कारण सेयर बजार प्रभावित हुन हुँदैन : मन्त्री खतिवडा


व्यक्तिविशेषका कारण सेयर बजार प्रभावित हुन हुँदैन : मन्त्री खतिवडा

काठमाडौँ, २९ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यक्तिविशेषका कारण सेयर बजार प्रभावित हुन नहुने बताउनुभएको छ ।

बिहिवारको प्रतिनिधिसभामा नेपाल धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कम्पनीको वित्तीय अवस्था र सरकारको आर्थिक नीतिका आधारमा सेयर कारोबार हुनुपर्ने भन्दै उहाँले त्यसमा कोही व्यक्ति आउनु र जानुले सरोकार राख्न नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘कम्पनीको वित्तीय अवस्था र भावी वित्तीय अवस्था कस्तो हुन्छ भनेर सेयर खरिद गर्ने हो, सरकारले कस्तो नीति नियम बनाउँछ र तिनको कार्यान्वयन कस्तो हुन्छ भनेर कारोबार गर्ने हो, व्यक्तिविशेष जो आए पनि गए पनि सेयर बजार प्रभावित हुनुपर्दैन ।’

सेयर बजारमा देखिएको पछिल्लो उथलपुथल कोरोना भाइरसका कारण भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘विश्वव्यापी रुपमा कोरोना भाइरस आएका कारणले सेयर बजारमा उथलपुथल देखिएको छ । यो अल्पकालीन आधारलाई हेरेर हामीले दीर्घकालीन सोच बनाउनु हुँदैन ।’

अर्थमन्त्री खतिवडाले सेयर कारोबार पुँजीपतिका लागि नभई सर्वसाधारणका लागि पनि भएको उल्लेख गर्दै अर्थतन्त्रमा ठूलो जोखिम लिन नसक्नेहरुले सेयरमार्फत पुँजीनिर्माणमा सहभागी भइरहेको बताउनुभयो ।