फोरजी सेवा : एनटीसीको बढ्यो, एनसेलका प्रयोगकर्ता घटे – Himalayan Dainik

फोरजी सेवा : एनटीसीको बढ्यो, एनसेलका प्रयोगकर्ता घटे


फोरजी सेवा : एनटीसीको बढ्यो, एनसेलका प्रयोगकर्ता घटे

काठमाडौं, २९ फागुन – सरकारी स्वामित्व रहेको नेपाल टेलिकम (एनटिसी)को फोरजी प्रयोगकर्ताको संख्या बढेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गत हप्ता सार्वजनिक गरेको मंसिर महिनाको एमआइएस (म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम) प्रतिवेदनका अनुसार फोरजी प्रयोगकर्ताको संख्या १४ सय ४२ ले बढेको हो ।

योसँगै मंसिरमा एनटिसीका फोरजी उपभोगकर्ताको संख्या ८ लाख ४१ हजार २२ पुगेको छ । एमआइएस प्रतिवेदनअनुसार कात्तिकमा फोरजी उपभोगकर्ताको संख्या ८ लाख ३९ हजार ५ सय ८० रहेको थियो। टेलिकमका उपभोक्ता बढ्दा निजी क्षेत्रको सेवा प्रदायक एनसेलको फोरजी प्रयोगकर्ता भने घटेका छन्। प्रतिवेदनका अनुसार ५ लाखले एनसेलको फोरजी प्रयोग गर्न छाडेका छन् । कात्तिकमा ३७ लाख १३ हजार ४ सय ३१ प्रयोगकर्ताले एनसेलको फोरजी चलाएपनि मंसिरमा ३२ लाख ७० हजार ४ सय ३१ जनाले मात्र प्रयोग गरेको प्रतिवेदनले जनाएको छ ।

फोरजी प्रयोगकर्ताको संख्या साढे ४३ लाख

एमआइएस रिपोर्ट अनुसार मंसिरमा समग्र फोरजी उपभोगकर्ताको संख्या साढे ४३ लाख रहेको छ । रिपोर्ट अनुसार नेपालभरी फोरजी प्रयोगकर्ताको कुल संख्या ४३ लाख ६१ हजार २ सय १७ रहेको छ । १ करोड २१ लाखले थ्रिजी प्रयोग गरिरहेको रिपोर्टमा उल्लेख छ ।

७२ प्रतिशत उपभोक्ता इन्टरनेटको पहुँचमा

पछिल्लो समय नेपालमा कुल जनसंख्याको ७२ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा रहेको प्रतिवेदनले जनाएको छ । प्रतिवेदन अनुसार २ करोड १३ लाख ७३ हजार ३ सय २८ जना इन्टरनेटको पहुँचमा पुगेका छन् । उक्त संख्या कुल जनसंख्याको ७२ दशमलव ४२ प्रतिशत हो । उक्त संख्यामा फिक्स्ट ब्रोडब्याण्ड तारसहितको प्रयोगकर्ता १५ दशमलव ५३, ताररहित इन्टरनेट प्रयोगकर्ताको संख्या शून्य दशमलव ७८ र मोबाइल फोन ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ५६ दशमलव ११ प्रतिशत रहेको छ ।

जनसंख्या भन्दा बढी मोबाइल फोन प्रयोगकर्ता

एमआइएस प्रतिवेदन अनुसार नेपालमा मोबाइल फोन प्रयोगकर्ताको संख्या कुल जनसंख्या भन्दा बढी देखिएको छ। करिब ३ करोड जनसंख्यामा सबै किसिमका मोबाइल फोन सेवा लिनेहरूको संख्या ४ करोड २८ लाख ७८ हजार रहेको छ। एकै जनाले दुई वा दुई भन्दा बढी मोबाइल सेवा लिएकाले उक्त संख्या बढी देखिएको नेपाल दूरसञ्चार प्राधिकरणको भनाई छ ।