औद्योगिक सर्वेक्षणमा पहिलोपटक तीन क्षेत्र समावेश – Himalayan Dainik

औद्योगिक सर्वेक्षणमा पहिलोपटक तीन क्षेत्र समावेश


औद्योगिक सर्वेक्षणमा पहिलोपटक तीन क्षेत्र समावेश

काठमाडौँ, २९ फागुन – ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६’ मा औद्योगिक क्षेत्रका चारमध्ये थप तीनओटा क्षेत्रलाई पहिलोपटक समावेश गरिएको छ । औद्योगिक क्षेत्रको रूपमा विश्वव्यापी मान्यता पाइसकेका ‘खानी तथा उत्खनन, विद्युत् उत्पादन, प्रसारण तथा वितरण र पानीको आपूर्ति, ढल निकाबहस, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलाप’ जस्ता क्षेत्रलाई नेपालले पहिलोपटक औद्योगिक सर्वेक्षणमा समावेश गरेको हो ।

सर्वेक्षणमा पहिला नसमेटिएका तीन क्षेत्रहरूमा विस्तारै लगानी, रोजगारी सृजना बढ्दै गएको र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा योगदान दिन सक्ने सम्भावनामूलक क्षेत्र भएकाले सर्वेक्षणमा समेटिएको हो । २०२० सालदेखि ठूला उद्योगहरूको औद्योगिक गणना शुरू गरेको तथ्यांक विभागले त्यसको साढे ५ दशकपछि एकीकृत रूपमा चारओटै क्षेत्रलाई समावेश गरेको छ । यसभन्दा पहिला ‘उत्पादनमूलक’ क्षेत्रलाई मात्रै समेटेर केन्द्रीय तथ्यांक विभागले औद्योगिक सर्वेक्षण तथा गणना गर्दै आएको थियो ।

योसँगै नेपालले पनि संयुक्त राष्ट्र संघ (यूएन)को औद्योगिक विकास निकाय (यूएनआईडीओ)ले स्थापित गरेका सबै औद्योगिक क्षेत्रलाई कार्यान्वयनमा ल्याएको छ । अन्तरराष्ट्रिय स्तरमा ‘औद्योगिक उत्पादन’लाई मात्रै लिएर औद्योगिक क्षेत्रको सर्वेक्षण तथा गणना गरिँदैन । नेपालले हालसम्म विभिन्न समयमा गरी १० पटक ठूला उद्योग तथा प्रतिष्ठानको गणना सम्पन्न गरिसकेको छ । पछिल्लो पटक विभागले ठूला उद्योग तथा प्रतिष्ठानको सर्वेक्षण २०६९ सालमा गरेको थियो भने सानाको २०६६ मा गरेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।