नयाँबस्ती र झम्सिखेलको जित – Himalayan Dainik

नयाँबस्ती र झम्सिखेलको जित


नयाँबस्ती र झम्सिखेलको जित

काठमाडौं,२८ फागुन – सहिद स्मारक बी डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लब र झम्सिखेल युथ क्लबले जित निकालेका छन्।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएका खेलमा नयाँबस्तीले श्री भगवती क्लबलाई र झम्सिखेलले श्री कुमारी क्लबलाई पराजित गरेका हुन्।

नयाँबस्तीले श्री भगवतीलाई २–१ गोलअन्तरले पराजित गरेको हो। नयाँबस्तीको जितमा सचु गुरुङ र संजोक राईले गोल गरे। श्री भगवतीका लागि लक्षमण जिसीले गोल फर्काएका थिए। खेलको ३०औं मिनेटमा सचुले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए। खेलको ६६औं मिनेटमा संजोकले गोल गर्दा नयाँबस्ती २–० गोलले अघि रहेको थियो। खेलको ८४औं मिनेटमा लक्षमणले गोल गर्दै २–१ को स्थितिमा ल्याएपनि श्री भवगतीले हार टार्न सकेन।

त्यस्तै, आजै भएको अर्को खेलमा झम्सिखेलले श्री कुमारी क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको श्री कुमारीले दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको झम्सिखेलविरुद्ध मौकाको फाइदा लिन सकेन। खेलको ६३औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै सुनिल शाही मैदानबाट बाहिरिएपछि झम्सिखेल १० खेलाडीमा सीमित भएको थियो। तर खेलको ७१औं मिनेटमा भुवन राईले र अतिरिक्त समयमा मदन स्याङ्तानले गोल गर्दै झम्सिखेललाई २–० गोलको जित दिलाए।