कोरोनालाई पराजित गर्दै चीन, सामान्य बन्दै जनजीवन – Himalayan Dainik

कोरोनालाई पराजित गर्दै चीन, सामान्य बन्दै जनजीवन


कोरोनालाई पराजित गर्दै चीन, सामान्य बन्दै जनजीवन

काठमाडौं, २८फागुन  – कोरोना भाइरस (कोभिड १९) को संक्रमणको चपेटामा परेको चीनको जनजीवन सामान्य बन्दै गएको छ । विश्वका १ सय १२ देशमा फैलिदा चीन भने नियन्त्रण नजिक पुगेको हो । पछिल्लो समय चीनमा संक्रमितको संख्या दिनप्रति दिन घट्दै गइरहेको छ ।

केही हप्ताअघिसम्म एकै दिनमा हजारौंको संख्यामा संक्रमित बढेको चीनमा पछिल्लो समय दुई अंकमा झरेको छ । केही दिन यता कोभिड–१९ को उद्गम मानिएको चीनको हुपै प्रान्तको वुहान सहरबाहेक अरू सहर र प्रान्तहरूमा नयाँ संक्रमितको संख्या एकदम न्यून छ । वुहान लकडाउन गरेको करिब ५० दिनभित्र चीनको जनजीवन सामान्य बन्दै गएको छ । चीन आकस्मिक र कठिन युद्ध बनेको कोभिड–१९ माथि विजय निकट पुगेको छ ।

जनवरी २३ मा चिनियाँ नयाँ वर्ष नजिकिँदै गर्दा वुहानलाई लकडाउन गरिएको थियो भने चीनका धेरै सहर र प्रान्तले पनि आकस्मिक स्वास्थ्य संकट घोषणा गर्दै पहिलो स्तरको चेतावनी जारी गरेको थियो । चिनियाँ समाचार एजेन्सीहरुले जनाएअनुसार हाल अधिकांश सहर र प्रान्तले सो स्तरलाई दोस्रो र तेस्रो स्तरमा झारिसकेको छ । यसै गरी वुहानमा सभा हल तथा खेल भवनमासमेत अस्थायी रूपमा स्थापना गरिएका सबै १६ वटा अस्पताल मंगलबारबाट बन्द गरिएको छ ।

महामारीले उग्र रूप लिएको बेला वुहानमा रातारात हजार शैय्याका दुई अस्पतालसमेत निर्माण गरेको थियो । यसै बीच चिनियाँ राष्ट्रपति सी चिनफिङले मार्च १० तारिख मंगलबार यी अस्पताल र वुहान सहरको अवलोकन गर्दै उपचारमा खटेका स्वास्थ्यकर्मी तथा बिरामी सबैलाई हौस्याउनु भएको थियो । राष्ट्रपति सी महामारीपछि पहिलो पटक वुहान पुग्नुभएको हो । ‘यदि वुहानले भाइरसविरूद्धको युद्ध जित्छ भने हुपैले पनि जित्ने छ । यदि हुपैले युद्ध जित्छ भने राष्ट्रले नै जित्ने छ,’ राष्ट्रपति सीले केही साता अघि भन्नुभएको थियो । हाल वुहानको स्थितिसमेत नियन्त्रणमा आइसकेको छ । यसैगरी चीनका विभिन्न सहर र प्रान्तको आर्थिक र सामाजिक जीवन पनि सामान्य बन्दै गएको छ । चीनभर कोभिड–१९ महामारीको नियन्त्रण तथा प्रतिरोधका कामहरूसँगै कलकारखानामा काम पुनः सुरू भइरहेका छन् ।

रोगको नियन्त्रण तथा कारखाना पुनः सञ्चालनका लागि शाङहाई नगरपालिकाले ‘कर घटाउने तथा मौद्रिक अप्ठ्यारो’ भन्ने साझा समस्याको समाधान गर्न २८ बुँदे सुविधाजनक नीति नै लागू गरेको छ । मार्चको अन्तसम्ममा शाङहाईका ११२ वटा ठूला परियोजना पुनः सुरु गराउने योजना रहेको बताइएको छ । यसै गरी क्वाङ तुङ प्रान्तको सदरमुकाम क्वाङचौ सहरमा वार्षिक आम्दानी २ करोड भन्दा बढी भएका उत्पादित व्यवसाय पुनः शुरू भएको दर ९९।५ प्रतिशत पुगिसकेको छ ।

कतिपय क्षेत्रमा पर्यटनस्थलसमेत खोलिसकेका छन् । सार्वजनिक यातायात तथा सार्वजनिक स्थलमा सकेसम्म स्वास्थ्य सुरक्षालाई ख्यालमा राख्दै भिड नगर्न र एकआपसबीच एक मिटरको दूरी राख्न पनि आह्वान गरिएको छ । साथै स्वास्थ्य सुरक्षा र नियन्त्रणका लागि कतिपय कार्यालय रिमोट वर्कको अवधारणामा सञ्चालित छन् भने शिक्षण संस्था पनि अनलाइनमार्फत चलिरहेका छन् ।

चीनको शिक्षा मन्त्रालयले चीन सरकारले महामारी पूर्ण नियन्त्रणमा आइसकेको घोषणा तथा अभिभावकको स्वीकृति र शिक्षण संस्था जोखिम रोकथाम र नियन्त्रणका लागि पूर्ण तयार भएपछि मात्र शिक्षण संस्था खोल्ने जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार, चीनमा ८० हजार ७ सय ५४ जना कोभिड–१९ बाट संक्रमित भएका छन् । यी संक्रमितमध्ये ५९ हजार ८ सय ९७ जनाको सफल उपचार भइसकेको छ ।

यसले ३ हजार १ सय ३६ जनाको ज्यान लिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार, मार्च ९ तारिख १९ जना ९उहान १७ जना० संक्रमित थपिएका छन् । यस बाहेक विदेशबाट आएका दुई व्यक्ति कोभिड–१९ संक्रमत भएको पुष्टि भएको छ । योसँगै चीनभित्र विदेशबाट आएका निश्चित संक्रमितको संख्या ६९ पुगेको छ ।