दैलेख, २७ फागुन – दैलेखमा रहेको चिनियाँ प्राविधिक टोली पहिलो चरणको अन्वेषणको काम पूरा गरी फर्किएको छ । दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको श्रीस्थान, नाभीस्थान पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणका लागि पहिलो चरणको अन्वेषणका काम सम्पन्न गरी चिनियाँ टोली फर्किएको हो ।
कात्तिक महिनामा दैलेखमा आएको चीनको प्राविधिक टोली र खानी तथा भूगर्भ विभागको टोली पहिलो चरणको अन्वेषणको काम सम्पन्न गरेर फर्किएको हो । खानी तथा भूगर्भ विभागका भूगर्भविद् गणेश त्रिपाठीले पेट्रोलियम पदार्थको अन्वेषणका लागि चार वटा खटिएको टोलीले काम सम्पन्न गरेर फर्किएको बताउनुभयो । उहाँले दैलेखमा रहेको चार टोलीमध्ये पहिलो टोलीले सर्भे गरेर नक्सा निर्माण, दोस्रो टोलीले जीओलोजिकल सर्भे गरी जमिनको सतहमुनिको अवस्थाका विषयमा अनुसन्धान गर्ने, तेस्रो टोलीले अन्वेषणका लागि आवश्यक पर्ने औजारहरु मगाउने र चौथो टोलीले साइस्मिक सर्भे गरेर फर्किएको बताउनुभयो ।
दैलेखको डुँगेश्वर गाउँपालिका वडा नं १ बेलपाटा चुप्रामा र दुल्लु नगरपालिका वडा न।५ दुल्लू अस्पतालमामा बेस क्याम्प निर्माण गरी चार महिना भन्दा बढी दैलेख बसेको टोलीले दुल्लू नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई विशेष केन्द्रित र चामुण्डा बिन्द्रासैनी नगरपालिका, डुँगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतिमाई गाउँपालिकालाई केही भूभाग समेटेर दशवटा सिस्मिक लाइनहरुमा जम्मा दुईसय लाईन किलोमिटर सर्भे गर्न चारसय वर्ग किलोमिटर भूभाग समेटेर सर्भे गरेको थियो ।
अन्वेषणका लागि पेट्रोलियम जिओलाजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ गरि महत्वपूर्ण मानिएको सेस्मिक सर्र्भे हो । विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीका अनुसार यो कार्य अन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरु जमिनको सतहमुनिको धेरै गहिराईसम्म पठाएर सतहमुनि ठोक्किएर फिर्ता भएका तरङ्गहरुलाई सतहमा गाडिएका सेन्सरहरुमा रेकर्ड राख्ने र रेकर्ड गरिएका विभिन्न गहिराईबाट परावर्तन भई आएका तरङ्गहरुको प्रशोधन गर्ने र त्यसबाट तयार भएका तरङ्गहरुहरुको सुक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुन सक्ने भौगर्भिक संरचना पहिचान गर्ने काम सम्पन्न गरेर टोली फर्किएको हो ।
फागुनको दोस्रो साता काम सम्पन्न गरेको टोलीलाई दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले औपचारिक रुपमा विदाई गर्नुभएको छ । पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा सुरक्षा प्रबन्ध मिलाएर सहयोग गरेको भन्दै चीनको प्राविधिक टोलीले प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद समेत दिएको छ । प्रजिअ कट्टेलले चीनबाट १४० जनाको प्राविधिक टोली आएको भए पनि सात जनाको टोलीबाहेक अरु सबै फर्किएको बताउनुभयो । उहाँले चुप्रामा रहेको बेस क्याम्प व्यवस्थापन गर्न सात जनाको टोली जिल्लामै बसेको बताउनुभयो ।