सरकारले मार्च ८ को औपचारिक कार्यक्रम नगर्ने – Himalayan Dainik

सरकारले मार्च ८ को औपचारिक कार्यक्रम नगर्ने


सरकारले मार्च ८ को औपचारिक कार्यक्रम नगर्ने

काठमाण्डौ,२२ फागुन – नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मार्च ८ मा गर्ने औपचारिक कार्यक्रम स्थगित गरेको छ ।

मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गरी कोरोना भाइरसका कारण ठूला सभा, समारोह गर्न नमिल्ने भएकाले मूल समारोह स्थगित भएको जानकारी गराइएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै दिवस मूल समारोह समितिले आइतबार बिहान र्‍याली र त्यसपछि हुने मूल समारोह स्थगित गरेको जानकारी दिए ।

मन्त्री गुरुङका अनुसार राष्ट्रपतिको उपस्थितिमा मूल समारोहको आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलनमार्फत दिवसको शुभकामना दिंदै मन्त्री गुरुङले समानताको शुरुवात घरबाटै गर्न सबैलाई आग्रह पनि गरेका छन् ।

कार्यक्रममा मन्त्रालयका सचिव यामकुमारी खतिवडाले महिलाको विकासमा पुरुष सहभागिता एकदमै महत्वपूर्ण हुने भन्दै महिला वा पुरुषको मुद्दा भनेर छुट्टयाउन नहुने बताइन् ।

सरकारले मार्च ८ को यस वर्षको नारा ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा, विभेद र असामानता’ राखेको छ ।

शुक्रबार नै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले पनि मार्च ८ को अवसरमा सांसद महिला र पत्रकार महिला बीच शुभकामना आदानप्रदान आयोजना गरेकी छिन् ।

कार्यक्रममा उपस्थित सांसदहरु मीना पाण्डे, रेखा शर्मा, यशोदा सुबेदी, लक्ष्मी चौधरी तथा पत्रकारहरु नम्रता शर्मा, बबिता बस्नेत, डा. मन्जु मिश्र, बबिता बस्नेत, निर्मला शर्मा, लक्ष्मी पुन, आरती चटौत लगायतले संविधान र कानुनमा महिला अधिकारको कुरा सुनिश्चित भए पनि व्यवहारमा कार्यान्वयन हुन अझै बाकी रहेकाले महिला सवाललाई संयुक्तरुपमा उठाउनुपर्ने बताए ।