निर्माणाधीन धरहराको अबलोकन गरेपछि राष्ट्रपति भण्डारीले भन्नुभयो,पुनःनिर्माणको काम उत्साहजन – Himalayan Dainik

निर्माणाधीन धरहराको अबलोकन गरेपछि राष्ट्रपति भण्डारीले भन्नुभयो,पुनःनिर्माणको काम उत्साहजन


निर्माणाधीन धरहराको अबलोकन गरेपछि राष्ट्रपति भण्डारीले भन्नुभयो,पुनःनिर्माणको काम उत्साहजन

काठमाडौं, २५ माघ – निर्माणाधीन धरहराको आज राष्ट्रपति विद्यादेवी भण्डारीले स्थलगत अवलोकन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बिहान, रानीपोखरी र दरबार हाइस्कुलको अवलोकनपछि सुन्धारास्थित धरहरा निर्माणस्थलमा पुग्नुभई अवलोकन गर्नुका साथै निर्माण कार्यको संरचना र वस्तुगत अवस्थाका बारेमा जानकारी लिनुभएको हो । धरहरा अवलोकनपछि राष्ट्रपति भण्डारीले सम्पदा पुनःनिर्माणको काम उत्साहजनक रुपमा भएको पाइएको बताउनुभयो ।

देशको गौरव र पहिचानसँग जोडिएको ऐतिहासिक धरहराको मुख्य संरचना अबको नौ महिनाभित्र सम्पन्न हुने निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । आगामी एक वर्षभित्र आम सर्वसाधरणले २२ तले धरहराको टुप्पोबाट राजधानी काठमाडौँको मनोरम दृश्वावलोकन गर्न पाइनेछन् ।

विसं २०७२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको धरहराको डेढ वर्षअघि पुनःनिर्माण शुरु गरिएको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७५ पुस १२ गते प्रधानमन्त्री केपी शर्मा आलीले धरहरा पुनःनिर्माणको शिलान्यास गर्नुभएको थियो । साबिकको धरहरा रहेको स्थान सुन्धारामा करिब ४२ रोपनी क्षेत्रफलमा धरहरा निर्माण भइरहेको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव हरिहर शर्माले धरहरा निर्माणको काम द्रुत गतिमा अघि बढेकाले अबको एक वर्षमा सर्वसाधरणले धरहरा चढ्न पाउने बताउनुभयो । उहाँका अनुसार अहिले धरहराको निर्माणको भौतिक प्रगति ३७ प्रतिशत र वित्तीय प्रगति करिब ३१ प्रतिशत रहेको छ । निर्माणअवधिको बाँकी नौ महिनामा धरहराको मुख्य संरचना तयार भइसक्नेछ ।

सचिव शर्माले भन्नुभयो, “अहिले धरहराको सातौ तलाको ढलान कार्य जारी छ । प्रत्येक १५ दिनमा एक तला ढलान गर्नेगरी काम भइरहेको छ । अबको छदेखि सात महिनाभित्र संरचना निर्माणको काम सकिन्छ । त्यससँगै फिनिसिङको काम पनि अघि बढ्नेछ ।”

धरहरा परिसरमा रहेका विद्युत् प्राधिकरण, नेपाल टेलिकम, खानेपानी, हुलाक कार्यालय, नेपाल राष्ट्र बैंकको कार्यालय र कर्मचारी सञ्चय कोषको संरचना हटाउँदा बढी समय खर्चनु परेको सचिव शर्माले बताउनुभयो । अझै पनि बाँकी रहेको कोषको संरचना भत्काउनुपर्नेछ ।

पहिला पाँच रोपनी क्षेत्रफलमा रहेको धरहरा अहिले अन्य संरचना भत्काएर विस्तार गर्दा ४२ रोपनी क्षेत्रफल भएको छ । धरहरा पुनःनिर्माणका लागि मूल्य अभिवृद्धि करसहित रु तीन अर्ब ४८ करोड लाग्नेछ । धरहराको अनुमानित लागत रु पाँच अर्ब ४६ करोड रहेको छ ।

धरहराको भुइँतलामा तीन तले पार्किङ निर्माणको काम धमाधम भइरहेको छ । धरहरा परिसरमा २२ तले टावर, तीन तले पार्किङ र सङ्ग्रहालयको समानन्तर ढङ्गले काम भइरहेको आयोजनाले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट प्रभावित सम्पदाको पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिका, पुरातत्व विभागलगायत सरोकारवाला निकायको समन्वयमा पुनःनिर्माणको काम प्रभावकारी रुपमा भइरहेको बताउनुभयो ।

उहाँले सांस्कृतिक सम्पदालगायत अन्य पूर्वाधारको कामलाई चाडै सक्नेगरी काम अघि बढाइएको उल्लेख गर्नुभयो । धरहरा निर्माणमा खटिएका इञ्जिनीयर दीपक उपाध्यायले धरहराको डबल बेसमेन्ट सकिएको छ, मूख्य संरचनाको सात तला ढलानको काम भइसकेको र अन्य संरचनाको काम पनि तीव्र गतिमा भइरहेको छ ।

अर्को वर्ष सर्वसाधरणले धरहरा चढ्न पाउनेछन् । धरहरा निर्माणका लागि दिन र रातमा गरी दुई सिफ्टमा काम हुन्छ । निर्माणमा प्राविधिकसहित करिब २०० जनशक्ति खटिएका छन् । सन् १८३२ तत्कालीन राणा प्रधानमन्त्री भीमशेन थापाले आफ्नी रानी ललित त्रिपुरा सुन्दरीको खुशीका लागि धरहरा निर्माण गरिएको इतिहासको दस्तावेजमा उल्लेख छ । शुरुको ११ तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो ।