काठमाडौं, २२ माघ – नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित हुनुभएको छ । ललिता निवास जग्गा प्रकरणमा संलग्नता रहेको निश्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उहाँ स्वतः सांसदबाट निलम्बित हुनुभएको हो ।
भ्रष्टाचार मुद्दा लागेपछि प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सांसद पदबाट स्वतः निलम्बित हुने व्यवस्था रहेको छ । गच्छद्धारले ललितानिवासको सरकारी जग्गा हडप्ने काममा सघाएको प्रमाणसहित अख्तियारले मुद्दा दायर गरेको हो । गच्छदार सुनसरीबाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो ।
गच्छदारमाथी अख्तियारले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगोसहित मुद्दा दायर गरेको प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिनुभयो ।