काठमाडौं, २१ माघ – सरकारले कोरोना भाइरस संक्रमण र नियन्त्रणका लागि उच्च सतर्कताका साथ काम भइरहेको जानकारी दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारबाट भएका कामकारवाहीको जानकारी गराउँदै सो भनाई राख्नुभएको हो ।
मन्त्री ढकालका अनुसार कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा दुईपटक मन्त्रीहरु र सम्बन्धित विज्ञ सम्मलित बैठक बसेको, स्वास्थ्य मन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाइएको छ भने प्राविधि र आन्तरिक व्यवस्थापनको काम संयोजनका निम्ति स्वास्थ्य मन्त्रालयका सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम भइरहेको छ । स्वास्थ्यमन्त्री ढकालले संक्रमणबाट बच्न जनचेतनामुलक विज्ञापन बनाइएको र सम्बन्धित विज्ञहरुसँग विभिन्न चरणमा बैठक गरी अन्तरक्रिया, परामर्श गर्ने काम भइरहेको जानकारी पनि दिनुभयो ।
चीनमा रहेका विद्यार्थीलाई ल्याउने विषय गम्भीर प्रश्न रहेको बताउँदै मन्त्री ढकालले बिलम्ब नगरी ल्याउने क्रममा सरकार जुटेको स्पष्ट पार्नुभयो । उहाँले सरकार नेपाल फर्कन चाहनेलाई ल्याउन तयारी अवस्थामा रहेको र उनीहरुलाई ल्याएपछि अरुलाई संक्रमण नसरोस् भनेर पनि गम्भीर हुनुपर्ने आवश्यकता रहेकाले त्यहीअनुसारको सतर्कता अपनाउने तयारी अघि बढाएको बताउनुभयो । वुयान प्रान्तमा विमानस्थल बन्द रहेको र यातायात पनि सञ्चालनमा नरहेकाले स्थानीय सरकारसँगको समन्वयनमा त्यहाँका नेपालीलाई नेपाल ल्याई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै सार्वजनिक सम्पर्कमा पठाउने गरी आवश्यक तयारी गरिएको स्वास्थ्यमन्त्री ढकालले जानकारी दिनुभयो ।
कुनै पनि रोगको संक्रमण फैलिएको अवस्थामा संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अन्तर्गत सरकारले आदेश जारी गरेर व्यक्तिहरुलाई राख्न सक्ने कानुनी प्रावधानअनुसार आदेश जारी पनि गरिसकेको उहाँले जानकारी दिनुभयो । मन्त्री ढकालले तत्कालका लागि तीनवटा अस्पतालमा ४३ वटा बेडको व्यवस्था मिलाइएको र अन्य अस्पतालमा पनि आवश्यक परामर्श भइरहेको जानकारी दिनुभयो । यस्तै, तत्कालका लागि काठमाडौं उपत्यकाबाहिर पोखरा, चितवन, र भैरहवामा हेल्प डेक्सको व्यवस्था गरिएको तथा रसुवा र तातोपानी नाकालाई पनि सम्भावित जोखिमको ठाउँमा राखेर आवश्यक तयारी गरिएको जानकारी दिनुभयो ।
मन्त्री ढकालले सरकारले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याएर राख्ने ठाउँ नपाएको भन्ने भनाइमा सत्यता नभएको र ढिलाई गरेको भन्ने भनाइमा पनि सत्यता नभएको प्रष्ट पार्नुभयो । ‘ल्याएका विद्यार्थीलाई कुन स्थानमा राख्ने भन्ने कुराको नजिक निष्कर्षमा पुगेका छौं । बस्तीभन्दा टाढा रहेको ठाउँहरु नै छान्नु उपयुक्त हुन्छ भन्ने बुझाइमा सरकार रहेको छ,’ मन्त्री ढकालले भन्नुभयो, ‘ठाउ नै नपाएर बानेश्वरको हलमा राख्ने कुराले रोग न्यूनीकरण हुन्छ भन्ने हामीलाई लाग्छ र त्यही गर्दा हुने हो भने यस्ता ठाउँहरु त पर्याप्त नै पाउछौँ । तर त्यो पूर्णरुपमा रोगलाई संक्रमित हुन नदिने भन्दा पनि अभिव्यक्ति स्वतन्त्रताको उपयोग मात्रै हो भन्न मेरो बुझाइ रहेको व्यहोरा पनि जानकारी गराउन चाहन्छु ।’