उपत्यकाका १८ वटा पेट्रोल पम्प हटाइने (नामसहित) – Himalayan Dainik

उपत्यकाका १८ वटा पेट्रोल पम्प हटाइने (नामसहित)


उपत्यकाका १८ वटा पेट्रोल पम्प हटाइने (नामसहित)

काठमाडौं, २० माघ –  उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएको छ । काठमाडौंका १२ र ललितपुरका ६ वटा पेटोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल आयल निगम र ट्राफिक प्रहरी महाशाखालाई पत्राचार गरेको हो ।

सडक छेउका र सडकको घुम्तीमा रहेका पेट्रोल पम्पको व्यवस्थापन गर्न पत्राचार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले काठमाडौं उपत्यकाको बढी मात्रामा गाडी आवागमन हुने सडक छेउ र सडक घुम्तीमा रहेका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निगमलाई पत्र प्राप्त भएको बताउनुभयो।

गोइतकाअनुसार कोत थुकु पेट्रोल पम्प बालाजु, जयन्ती पेट्रोल पम्प, थापाथली, कनक पेट्रोल पम्प कालीमाटी, मायाराम भोलाराम पेट्रोल पम्प थापाथली, त्यस्तै कलँकीका बाबा, श्यामा र त्रिशूल पेट्रोलपम्प हटाइने छ ।

यस्तै कोटेश्वरका भ्याली रिकेश र कामाख्या पेट्रोल पम्प, बौद्धका जुबी र बराल पेट्रोल पम्प र महाराजगञ्जको सीता पेट्रोल पम्प पनि हटाइनेछ । यस्तै चापागाउँमा रहेका बज्रबराही, बालकुमारी र टीकाभैरव पेट्रोलपम्प, जावलाखेलका साझा पेट्रोल पम्प, एच पी इन्टरनेसनल र गायत्री पेट्रोल पम्प हटाइने निगमले जनाएको छ ।

निगमका निर्देशक तथा प्रवक्ता गोइतले पेट्रोल पम्पलाई पम्प हटाउन वा सार्न प्रक्रिया सुरु गर्न १५ दिनको समयावधि दिइएको पनि बताउनुभयो ।