द्धन्दकालिन आयोगलाई नेतृत्व दिने कसरत : प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता – Himalayan Dainik

द्धन्दकालिन आयोगलाई नेतृत्व दिने कसरत : प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता


द्धन्दकालिन आयोगलाई नेतृत्व दिने कसरत : प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता

काठमाडौं, ३ माघ  – सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगका विषयमा छलफल गर्न सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शिर्ष नेता छलफलमा जुट्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भईरहेको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा, सुवास नेम्वाङ, खिमलाल भट्टराई, मिनेन्द्र रिजाललगायतका नेता सहभागी हुनुहुन्छ ।

लामो समयदेखी आयोगको नेतृत्वका विषयमा सहमति जुट्न नसकिरहेका बेला शिर्ष नेताहरु छलफलमा जुट्नु भएको हो ।सातवटै प्रदेशमा आयोगबारेको विधेयकको मस्यौदामा द्वन्द्वपीडितसँग परामर्श गरेपछि यो छलफल भइरहेको हो । नेकपा र कांग्रेस नेताहरू संयुक्त रूपमा सातवटै प्रदेशमा गएका थिए। उनीहरूले पीडितसँग विधेयकमा प्रस्ताव गरिएका व्यवस्थालाई लिएर छलफल गरेका थिए । यो विधेयक संसदबाट पास गराउने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने तयारी भइरहेको छ ।

दुवै आयोग गत वैशाख १ गतेबाट पदाधिकारीविहीन छन् । सरकारले आयोगमा पदाधिकारी सिफारिस गर्न गत चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो । समितिले दरखास्त आहृवान गरेका ५७ मध्ये ५४ र त्यसमा थप ७ गरी ६१ उम्मेदवारको सूची मंसिर पहिलो साता प्रकाशन गरेको थियो ।

तर, राजनीतिक तहमा सहमति हुन नसक्दा समितिले नाम सिफारिस गर्न सकेको छैन् । सिफारिस समितिको शुक्रबार बसेको बैठकले पदाधिकारीमा पुरानाहरू नदोहोर्‍याउने सहमति गरेको थियो । समितिले आगामी बुधबार बैठक गरेर नाम छनोट गर्ने निर्णय गरेको थियो । त्यसैको पूर्वसन्ध्यामा दाहाल र देउवाबीच छलफल भएको हो ।

सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरूको आयोगलाई पूर्णता दिन चासो देखाएसँगै सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको सत्यतथ्य छानविनमा एक कदम अगाडि बढ्ने विश्वास गरिएको छ । ९ महिनादेखि दुवै आयोग पदाधिकारीविहीन बने पनि सरकार र प्रमुख दलहरू द्वन्द्वकालीन मुद्दा टुङ्ग्याउन अग्रसर नभएको भन्दै आलोचना हुँदै आएको छ । बैठकले नेतृत्वका विषयमा टुंगो लगाउने तयारी गरेको छ ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गत वर्षको चैत २७ देखि पदाधिकारीविहीन छन् । पदाधिकारी नहुँदा परेका उजुरीहरू पनि अलपत्र छन् । बेपत्ता आयोगले २ हजार ३ सय ६९ फाइलमध्ये करिब आधा फाइलको मात्र प्रारम्भिक अनुसन्धान सकेको छ । मेलमिलाप आयोगमा परेका ६४ हजार उजुरीमध्ये २ हजार ९ सयको मात्र प्रारम्भिक अनुसन्धान भएको बताइन्छ । जसले नयाँ आउने नेतृत्व पहिले नै झस्कने गरेको देखिन्छ ।

आयोगले यी ४ वटा काम गर्नुपर्ने छ

१. सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लङ्घनसम्बन्धी घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिहरूको बारेमा सत्य अन्वेषण तथा छानविन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउने ।

२. सशस्त्र द्वन्द्वका पीडक र पीडितबीच मेलमिलाप गराई पारस्परिक सद्भाव तथा सहिष्णुताको भावना अभिवृद्धि गर्दै दिगो शान्ति र मेलमिलापको वातावरण निर्माण गर्ने ।

३. सशस्त्र द्वन्द्वकालीन घटनाका पीडित व्यक्तिहरूलाई परिपुरणको व्यवस्थाका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने ।

४. सशस्त्र द्वन्द्वकालीन घटनासँग सम्बन्धित गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने ।