अबको आन्दोलन आर्थिक विकासका लागि हुनुपर्छ : अर्थमन्त्री खतिवडा – Himalayan Dainik

अबको आन्दोलन आर्थिक विकासका लागि हुनुपर्छ : अर्थमन्त्री खतिवडा


अबको आन्दोलन आर्थिक विकासका लागि हुनुपर्छ : अर्थमन्त्री  खतिवडा

महोत्तरी, २७ पुस  – अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेश नं २ मा अब आर्थिक विकासका लागि आन्दोलन हुन जरुरी रहेको बताउनुभएको छ ।

महोत्तरीको मूल भन्सार कार्यालय जलेश्वरको नवनिर्मित भवनको समुद्घाटनपछि सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले प्रदेश नं २ मानव विकास सूचकाङ्कमा निकै तल रहेकाले यस प्रदेशका स्थानीय सरकार, प्रदेश सरकार तथा जनताको सेवा सुविधाका लागि कार्यरत प्रत्येक निकायलाई एकअर्कासँग समन्वय गर्दै विकासका कार्यक्रम अगाडि बढाउन सुझाव दिनुभयो ।

उहाँले अहिले सबैभन्दा ठूलो आन्दोलन समाज परिवर्तनको आन्दोलन गर्न, आर्थिक रुपान्तरण गर्न र चौतर्फी विकासका नयाँनयाँ योजना ल्याउन सुझाव दिनुभयो । उहाँले कुनै एक प्रदेश, कुनै एक स्थानीय तह वा कुनै एक क्षेत्र विशेषको विकास गर्दैमा नेपालको विकास नहुने उल्लेख गर्दै सङ्घीय सरकारले देशको चौतर्फी विकासका लागि सबै प्रदेश र स्थानीय तहलाई आवश्यकता हेरी बजेट दिने गरेको बताउनुभयो । अर्थमन्त्री खतिवडाले बजेटको सदुपयोग गरेमा देश साँच्चै विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं २ को सरकारले प्राप्त बजेटको ६० प्रतिशत पनि खर्च गर्न नसकेकाले विकास पनि सोचेजस्तो नहुने भन्दै उहाँले ८०÷८५ प्रतिशतसम्म बजेट खर्च गर्न निर्देशन दिनुभयो । अर्थमन्त्री डा खतिवडाले नेपाल सरकारले तय गरेका ‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्पलाई पूरा गर्न नेपाल सरकार अहिले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै आएको बताउनुभयो । उहाँले विकासका लागि अगाडि बढ्न तथा जनताको घरदैलोमा गएर सेवा दिन सबैलाई सुझाव दिनुभयो ।

मन्त्री खतिवडाले महोत्तरीको मूल भन्सार कार्यालय जलेश्वर प्रदेश नं २ कै नमूना भन्सार रहेको र पछिल्लो दिनमा यस भन्सारले राजस्व सङ्कलन तथा व्यापारमा निक्कै महत्वपूर्ण भूमिका खेलेको बताउँदै अर्थमन्त्री डा खतिवडाले यस भन्सार कार्यालयले आउँदा दिनमा थप सुविधा पाउने बताउनुभयो । उहाँले वर्षौंदेखि भारु रुपैयाँका लागि सटही काउण्टरको अभावको समस्या झेल्दै आएका महोत्तरी तथा यस भन्सार नाकाबाट भारत जानेको पीडामा मल्हम लगाउनका लागि भन्सार परिसरमै चाँडै सटही काउन्टर सञ्चालनमा ल्याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।