हिमपात र वर्षाले कारण हुम्ला, डोल्पा, मुगु र जुम्लाका बासिन्दाको जनजीवन कष्टकर – Himalayan Dainik

हिमपात र वर्षाले कारण हुम्ला, डोल्पा, मुगु र जुम्लाका बासिन्दाको जनजीवन कष्टकर


हिमपात र वर्षाले कारण हुम्ला, डोल्पा, मुगु र जुम्लाका बासिन्दाको जनजीवन कष्टकर

सुर्खेत, पुस २६ ।  एक सातादेखि कर्णालीको मौसममा फेरबदल भएको छैन । यहाँका हिमाली जिल्लामा हिमपात भइरहेको छ भने पहाडी जिल्लामा दैनिक वर्षा भइरहेको छ ।

हिमपात र वर्षाले चिसो बढ्दै गएपछि कर्णालीको जनजीवन प्रभावित बन्दै गएको छ । हुम्ला, डोल्पा, मुगु र जुम्लाका बासिन्दा यसबाट बढी प्रभावित भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमालले हिमपातले हुम्लाका नागरिकको दैनिकी निकै सकसपूर्ण बन्दै गएको बताउनुभयो । सहायक प्रजिअ हमालका अनुसार हिमपातको समयमा जिल्लावासीलाई बाहिर नजान र लामो यात्रा नगर्न सुझाइएको छ । हिमपातले दुई दिनदेखि साविकको कर्णालीमा मोबाइल तथा टेलिफोन सेवा अवरुद्ध छ ।

लेकको हिमपात र बेंसीको वर्षाले लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन् । हवाई यातायात एक सातादेखि ठप्प छ । हिमपातको चिसोले हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युत्का पोल भाँचिने तथा तार चुँडिने समस्या बढेको त्यहाँका स्थानीयले बताएका छन् ।

जुम्ला चन्दननाथ– ८ का स्थानीय यज्ञलाल महतले बरफ जमेर धारा बन्द हुँदा खानेपानी राख्न धौधौ भएको बताउनुभयो । “धारोबाट पानी पगाल्न पानी तताएर पाइपमा खन्याउनुपर्छ तर तताएर हाल्ने पानी छैन”, महतले भन्नुभयो । बजारमा दाउरा नपाइने र सिलिन्डरको ग्यास चिसोले जम्न थालेपछि हातमुख जोर्न कठिन भएको उहाँको भनाइ थियो ।

जाडो मौसममा वर्षेनी हिमाली जिल्लाका अधिकांश युवा कालापहाड जाने भएकाले यहाँ रहने ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई समस्या हुने गरेको तिला गाउँपालिका– ३ जुम्लाका स्थानीय नरबहादुर रावतले  बताउनुभयो । हिमपातले बिस्कुन सुकाउन, पिठो पिस्न, बस्तुभाउलाई घाँसपात, घरमा बाल्ने दाउरा प्रबन्ध गर्न गाह्रो भएको उहाँको भनाइ थियो ।

चिसोले दैलेख, कालीकोट, जाजरकोट उच्च स्थानका नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । सुर्खेत, दैलेख सल्यान र रुकुम पश्चिममा वर्षाले यहाँका शैक्षिक संस्था प्रभावित भएका छन् । चिसोले सेवाग्राहीले सेवा लिन पाएका छैनन् । कर्मचारीले भने आगो बालेर कार्यालय खुला राखेका छन् ।