महिला हिंसाकै रूपमा रहेको ‘छाउपढी’को अन्त्यका लागि स्थानीय सरकारबाटै योजना बनाउनु पर्ने : पूर्व मन्त्री थापा – Himalayan Dainik

महिला हिंसाकै रूपमा रहेको ‘छाउपढी’को अन्त्यका लागि स्थानीय सरकारबाटै योजना बनाउनु पर्ने : पूर्व मन्त्री थापा


महिला हिंसाकै रूपमा रहेको ‘छाउपढी’को अन्त्यका लागि स्थानीय सरकारबाटै योजना बनाउनु पर्ने : पूर्व मन्त्री थापा

काठमाडौँ, २६ मङ्सिर  महिला हिंसाकै रूपमा रहेको ‘छाउपढी’को अन्त्यका लागि स्थानीय सरकारबाटै वाध्यात्मक योजना ल्याउनुपर्नेमा जोड दिइएको छ ।जागरण नेपाल र महिला हित समाजद्वारा विहीवार राजधानीमा आयोजित कार्यक्रममा सहभागी प्रतिनिधीसभा सदस्यलगायतका स्थानीय र सङ्घीय सांसदहले सो कुरा बताउनुभएको हो ।

सो अवसरमा पूर्व मन्त्री थममाया थापाले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस वर्षभरीलाई लैङ्गिक हिंसा न्युनिकरणका लागि कार्ययोजना नै बनाएर काम जारी राखेको जानकारी दिंदै मानिसको बाँच्न पाउने हक नै हनन हुनेसम्मको संस्कारका अन्त्यका लागि कोष नै खडा गरेर नै काम थाल्ने योजना तय गरिएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा सुरू भएका ति योजनाहरूको कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै आफू सधैं हिंसा न्युनिकरणका लागि काम गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

महिला हित समाजका अध्यक्ष जया घिमिरेको सभापतित्वमा आयोजित कार्यक्रममा  दामोदर भण्डारीले छाउ, वा छाउपढी बार्ने बहानामा ज्यान नै जानेगरी छाउगोठमा बस्न लगाउने घरपरिवारलाई स्थानीय प्रसाशनले जन्मदर्ता, नागरिकतालगायतका सामाजिक सुरक्षा सेवाबाट बञ्चित बनाउनुपर्ने बताउनुभएको हो ।

बैतडी जिल्लाबाट प्रतिनिधीसभा सदस्यमा प्रतिनिधत्व गर्नुहुने भण्डारीले जुन गाउँमा देउता, धामीझाँक्रीको बहानामा छाउ बार्ने चलन महिलाको ज्यान समेत जाने गरी यथावत नै राखेका छन् । त्यस ठाउँमा स्थानीय सरकारले दण्ड जरिवानालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ भने विकास निर्माणको योजना दिंदा पनि कुरितीको अन्त्य गर्न सहयोग गर्ने गाउँ, वा स्थानलाई प्राथमिकतामा राख्ने पहल हुनुपर्ने बताउनुभयो ।

महिला अधिकारकर्मी शर्मिला कार्कीले गत वर्ष महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा पश्चिमका अछामलगायत पाँच जिल्लामा छाउ सम्वन्धी अध्ययन सर्वेक्षणमा जादा धार्मिकलगायत सामाजिक विश्वासका कारण महिनावारी हुँदा महिला घरदेखि टाढा साँघुरो गोठमा बस्नुपर्ने चलनले जरा गाढेको अवस्था रहेको पाईयो र केही दिन अगाडि मात्र अछाममा महिलाले ज्यान गुमाउनुपरेको सबैलाई जानकारी छ भन्नुहुँदै महिनावारी प्राकृतिक चक्रको समयमा महिलाले कम्तिमा बाँच्नपाउने अवस्थाको सृजनाको लागि सबै जुटौं भन्नुभयो ।

प्रतिनिधीसभा सदस्य प्रकाश स्नेहीले महिनावारीबारे जनचेतना जगाउन स्कुल, उच्च मावि र क्याम्पसमा शिक्षक, विद्यार्थीलाई बुझाउने कार्यक्रम वर्ष तीन दिन जत्ति दिनै तोकेर जागरणको काम गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा जागरण नेपालका अध्यक्ष सम्झना पोखरेलले हालै १३ औं सागमा चार स्वर्ण जित्नुहुने गौरिका सिंहको चर्चा गर्दै अवसर पाए महिलाले गर्न नसक्ने केही छैन, महिनावारी भएकैले मर्नुपर्ने वाध्यताको बोझबाट अब महिलाले मुक्ती पाउनुपर्छ त्यसका लागि समाजमा जरा गाढेर बसेको हानिकारक प्रथाको अन्त्यको लागि लामो समय निरन्तर छलफल चलाउनुपर्छ, साथै पाठ्यक्रममै त्यसबारे जनचेतना जगाउने विषय समावेश गर्नुपर्ने र कानुन, नियमको पालनामा जोड दिनुपर्ने बताउनुभयो ।