बौद्धिक अपाङ्गता भएका बालिका बढिमात्रामा बलात्कारको सिकार – Himalayan Dainik

बौद्धिक अपाङ्गता भएका बालिका बढिमात्रामा बलात्कारको सिकार


बौद्धिक अपाङ्गता भएका बालिका बढिमात्रामा बलात्कारको सिकार

काठमाडौँ, मंसिर २०- अछाम जिल्लाकी १२ वर्षिया बौद्धिक अपाङ्गता भएकी बालिकाको एक महिना अगाडि करिब २० हप्ताको गर्भपतन गराइएको थियो ।

आमाबुवा पनि बौद्धिक अपाङ्गता भएका र उहाँ आफुलाई परेको समस्या व्यक्त गर्न सक्ने अवस्थाको नभएकोले २० हप्ताको गर्भ हुँदा समेत परिवारको सदस्यले समेत थाह पाउन सकेनन् ।

बालिकालाई कुकुरले टोकेपछि उहाँका ठूलो बुवाले रेविज विरूद्धको सुई लगाउन अस्पताल लैजादा मात्र बालिका गर्भवती भएको थाह पाईयो र तुरून्त गाउँपालिकाको सहयोगमा थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा ल्याएपछि गर्भपतन गराईएको थियो ।

बौद्धिक अपाङ्गता भएकी उमेर पनि मात्र १२ वर्षकी बालिका बलात्कार को घटनामा परेर गर्भवती हुन पुगेको हो । ति बालिका मात्र एक प्रतिनिधी पात्र हुन्, अपाङ्गता भएका महिला कुनै न कुनै हिंसाबाट पीडित छन् । त्यसमध्ये पनि यौन हिंसा र शारिरीक हिंसामा धेरे परेका तथ्याङ्क सार्वजनिक भएको छ ।

नेपाल महिला सङ्घले महिला हिंसा विरूद्धको सोह्र दिने अभियान र अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भ पारेर बुधवार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्कमा अपाङ्गता भएका ७२ प्रतिशत महिला शारीरिक हिंसामा परेको पाईएको छ ।

सो सङ्घका अध्यक्ष निर्मला धितालले अनुसन्धानकर्ता रिता भद्राले वुमनकाइण्डको सहयोगमा काभ्रे, मोरङ र गोरखा जिल्लामा गर्नुभएको अनुसन्धानले यस क्षेत्रमा काम गर्न स्पष्ट नीति तथा कार्यक्रम बनाउन बाटो देखाएको बताउनुभयो ।

अध्यक्ष धितालले सो सर्वेक्षणमा पत्ता लागेका प्रमुख विषयवस्तु र तथ्याङ्कबारे प्रस्तुती दिंदै ५० प्रतिसत अपाङ्गता महिलालाई जवरजस्ती यौनगतिविधीमा संलग्न गराईएको पाईएको बताउनुभयो ।

उहाँले १७ प्रतिशतले यौन हिंसामा परेको, त्यसैगरी ४३ प्रतिशतलाई यौन दुव्र्यवहार, ३९ प्रतिशत बैवाहिक बलात्कारमा परेको र २८ प्रतिशतलाई जबरजस्ती परिवार नियोजनको साधन प्रयोग गर्न लगाईएको पाइएको बताउँदै कतिपयलाई हिंसा भन्ने कुरा नै थाह नभएको बताएको पनि बताउनुभयो ।

अनुसन्धानका लागि ति जिल्लामा पुग्दा कतिपय अपाङ्गता भएका महिलालाई तपाईंमाथि हिंसा भएको छ भन्दा थाह नभएको प्रतिक्रिया दिन्थे, तपाईको कपाल तान्ने, घचेट्ने आदि गर्छन् भनेर सोध्दा त्यो त सधैं गर्छन् भन्ने जवाफ दिन्थे । यसबाट अपाङ्गता भएका महिलालाई हिंसा के हो भन्ने समेत थाह नभएको अवस्थामा उनीहरूले आफ्नो समस्या व्यक्त गर्न नसकेको तथ्य फेला परेको अध्यक्ष धितालले बताउनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अपाङ्ग अधिकार प्रवद्र्धन शाखामा कार्यरत सह सचिव ज्ञानेन्द्र पौडेलले यस्ता अनुसन्धानात्मक प्रतिवेदनले यस क्षेत्रको समस्या समाधानका लागि आगामी नीति नियम, कार्यक्रम तर्जुमा गर्न सजिलो हुने बताउनुभयो ।

महिला कानुन र विकास मञ्चका अध्यक्ष मिरा ढुङ्गानाले महिला हिंसामा परेको घटनालाई छिटोभन्दा छिटो न्याय पाउने व्यवस्था नहुँदा र महिलाका मुद्दालाई हल्का रूपमा लिने प्रवृत्तिले गर्दा हिंसामा परेका महिला÷अपाङ्गता भएका महिलाले उजुरी नै नगर्ने प्रवृत्ति रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गताको क्षेत्रमा भईरहेका समस्याबारे स्पष्ट बुझ्न अनुसन्धानले निक्कै सहयोग मिल्ने बताउँदै अबका दिनमा यस्ता काम यस क्षेत्रसँग सम्वन्धीत संस्थाले गर्नु जरूरी रहेको बताउनुभयो ।

त्यसैगरी महासङ्घका उपाध्यक्ष रमा ढकालले महासङ्घले पनि सातै प्रदेशमा अपाङ्गता भएकामाथि भईरहेको समस्याबारे सर्वेक्षण गरेको छ । त्यस सर्वेक्षणबाट पनि अपाङ्गताको क्षेत्रको समस्या समाधानका लागि नीति निर्माणका लागि सहयोग गर्ने विचार व्यक्त गर्नुभयो ।