भारतलाई नेकपाले दियो चुनौती : नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने – Himalayan Dainik

भारतलाई नेकपाले दियो चुनौती : नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने


भारतलाई नेकपाले दियो चुनौती : नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने

काठमाडौँ, १९ मंसिर – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाली भूमिको नयाँ नक्सा तयार गरी वितरण गर्न सरकारलाई आग्रह गरेको छ ।

भारतले गत कात्तिक २ गते सार्वजनिक गरेको उसको नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई समेत समावेश गरेपछि नेपालको राजनीति क्षेत्र र जनस्तरमा आक्रोश पैदा भएपछि सरकार र पार्टीले नेपालको नयाँ नक्सा तयारीमा तदारुकता देखाएको हो ।

सचिवालय सदस्य वामदेव गौतमले भन्नुभयो, “हामीले पार्टीबाट निर्णय गरेर भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्रीलाई नेपालको नक्सा तयार गरी चाँडो वितरण गर्न भनिसकेका छौँ । हामी हाम्रो एक इञ्च भूमि पनि लिँदैनौँ र हाम्रो भूमि पनि छाड्दैनौँ । त्यसका लागि सरकारको सम्बन्धित मन्त्रालयले आवश्यक पहल गरेर नक्सा सार्वजनिक गर्नेछ । कुन कुन पक्षसँग सहयोग लिएर हुन्छ, तुरुन्त हाम्रो भूमि एक इञ्च पनि बाहिर नपारेर हाम्रो नयाँ नक्सा तयार गरी वितरण गर्ने निर्णय भएको छ । यो निर्णयलाई अध्यक्षहरु र महासचिवले लागू गर्नुहुने नै छ ।”

नेपाल र भारतबीचको दुईपक्षीय सम्बन्धलाई पुनरावलोकन गरी सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन दुवै देशले ग्रहण गर्न बाँकी छ भने दुई देशबीचका उच्चस्तरीय भ्रमणका अवसरमा भएका सहमतिका आधारमा गठित सीमा विवाद समाधानसम्बन्धी संयन्त्रले काम गरिरहेको छ ।