बलिउडका चलचित्र अभिनेता गोविन्दा नेपालमा – Himalayan Dainik

बलिउडका चलचित्र अभिनेता गोविन्दा नेपालमा


बलिउडका चलचित्र अभिनेता गोविन्दा नेपालमा

काठमाडौं,२० कात्तिक – बलिउडका सफल चलचित्र अभिनेता गोविन्दा सोमबार पत्नी सुनिता र उहाँसँगै भारतमा रहनुभएकी नेपाली अभिनेत्री निरुता सिंहसँगै नेपाल आउनुभएको छ ।   नेपाल आउनुभएका गोविन्दा नेपाली ज्वाइँ पनि   हुनुहुन्छ ।

विरगञ्जमा  आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन नेपाल आउनुभएका भारतीय अभिनेता गोविन्दाले काठमाडौँमा पत्रकारसँगको कुराकानीका क्रममा भन्नुभयो, “मलाई नेपाली दर्शकबाट मायाँ र सम्मान मिल्दै आएको छ, यो मायाँ नियमित पाउने विश्वास छ, मेरो चलचित्र हेर्दै आउनुभएका नेपाली दर्शकलाई धन्यवाद दिन चाहन्छु ।”

गत वर्ष पनि उहाँ एक चलचित्र अवार्ड कार्यक्रममा सहभागी हुन नेपाल आउनुभएको थियो । यसपटक चलचित्र निर्माता सङ्घको निमन्त्रणामा नेपाल  आएको जानकारी दिनुभयो ।चलचित्र निर्माता सङ्घको आयोजनामा बुधबारदेखि पर्साको वीरगञ्जमा हुने उक्त कार्यक्रममा पुराना र नयाँ कलाकारले विभिन्न चलचित्रका गीतमा नृत्य प्रस्तुत गर्नेछन् । महोत्सवमा झण्डै २५ हजारको सहभागिता हुने अनुमान गरिएको महोत्सवको आर्थिक समितिका संयोजक शुशान्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले हिमाल, पहाड र तराईलाई जोड्नका लागि नेपाली चलचित्र निर्माणको ५३ वर्ष पुगेको उपलक्ष्यमा वीरगञ्जमा महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । विसं २०२२ मा पहिलो नेपाली चलचित्र ‘आमा’ निर्माण भएको थियो ।

महोत्सव संयोजक तथा चलचित्र निर्माता सङ्घका उपाध्यक्ष विमल पौडेलले महोत्सवमा भारतीय चलचित्र अभिनेता गोविन्दासँगै नेपाली कलाकारको प्रस्तुति रहने जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम अवधिभर सांस्कृतिक कार्यक्रमसँगै छनोट भएको चलचित्र प्रदर्शन तथा समीक्षा गरिनेछ ।

यस्तै भारतका वरिष्ठ क्यामराम्यान मुरलीधरणले प्रशिक्षण दिने कार्यक्रमसमेत रहेको उहाँले जानकारी दिनुभयो ।