कोजाग्रत पूर्णिमामा पहिलोपटक राष्ट्रपतिसामु नवदुर्गा नाच – Himalayan Dainik

कोजाग्रत पूर्णिमामा पहिलोपटक राष्ट्रपतिसामु नवदुर्गा नाच


कोजाग्रत पूर्णिमामा पहिलोपटक राष्ट्रपतिसामु नवदुर्गा नाच

भक्तपुर,२६ असोजवडा दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन पहिलोपटक  राष्ट्रपतिसामु नवदुर्गा गणनाच प्रदर्शन गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी पहिलोपटक उक्त नवदुर्गा गणनाच अवलोकन गर्नुभएको हो ।  वडा दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन प्रत्येक वर्ष राष्ट्र प्रमुख नवदुर्गा भवानीको पूजाआजा गर्न भक्तपुर जाने गर्नुहुन्छ ।

नवदुर्गा देवगणले नेपालमा गणतन्त्र स्थापनासँगै राष्ट्रपतिलाई अाफ्नो  नाच प्रदर्शन गर्ने इच्छा व्यक्त गर्दै आएका थिए। पहिलो राष्ट्रपति रामवरण यादवदेखि विद्यादेवी भण्डारीसम्म व्यक्त गरिएको उक्त इच्छा यस वर्ष पूरा भएको छ। राष्ट्रपति सामु नाच प्रदर्शन गर्न पाएपछि नवदुर्गा देवगण हर्षित देखिएका छन्।

राष्ट्रपति भण्डारीले गत वर्ष देवगणको इच्छाअनुसार नाच हेर्ने इच्छा व्यत्त गर्नुभएको थियो । तर केही तारतम्य नमिलेपछि गत वर्ष नाच प्रदर्शन हुन सकेको थिएन। यस वर्ष जिल्ला प्रशासन कार्यालय भक्तपुरको पहलमा नवदुर्गा देवगणलाई द्यः ब्वकेयेगु (सगुनसहितको पूजा) को व्यवस्था गरेपछि राष्ट्रपति भण्डारीसामु देवगणले नवदुर्गा नाच प्रदर्शन गर्न पाएका हुन्।

राष्ट्रपतिसामु देवगणले आइतबार इना ज्वनेगु प्याखँ (मंगलम नाच) प्रस्तुत गरेका थिए। खिँ, तः र कायः बाजाको तालमा गणेश केन्द्रमा बसेर ब्रह्मायणी, माहेश्वरी, भद्रकाली र कुमारी सम्मिलित उक्त नाच राष्ट्रपति भण्डारीले अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो । उक्त नाचको लागि देवगण आआफ्नो पोशाकमा मुकुटसहित पहिल्यै तयारी अवस्थामा बसेका थिए।


यस वर्ष सुरु गरिएको राष्ट्र प्रमुखसामु नवदुर्गा नाच प्रदर्शन अब प्रत्येक वर्ष हुने भएको छ। यसको लागि २० लाख १५ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले उक्त अक्षयकोषको ब्याज आम्दानीबाट यस वर्षदेखि कोजाग्रत पूर्णिमाका दिन  राष्ट्रपति सामु  नवदुर्गा नाच प्रदर्शन गरिने जानकारी दिए।

यसको लागि श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्था दर्ता गरिएको छ। सोही संस्थाअन्तर्गत चल्ने उक्त कोषको लागि जिल्ला समन्वय समिति भक्तपुरले १५ लाख र भक्तपुर उद्योग वाणिज्य संघले पाँच लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

उक्त सहयोग रकमको चेक आइतबार राष्ट्रपति भण्डारीलाई साक्षी राखेर जिसस प्रमुख नवराज गेलाल र संघका अध्यक्ष रामप्रसाद प्रजापतिले देवगणका मूल नाइके कृष्णकुमार वनमालालाई हस्तान्तरण गरेका हुन्।

उक्त नाच अवलोकनपछि राष्ट्रपति भण्डारीले नवदुर्गा भवानीको पूजाआजा तथा प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपतिको तर्फबाट मन्दिरका पुजारी जुलाल कर्माचार्यले तान्त्रिक विधिअनुसार नवदुर्गा भवानीको पूजाआजा गरेका थिए। पुजारी कर्माचार्यलाई नकीं कृष्णमाया बनमालाले सहयोग गरेकी थिइन्। यस वर्ष पहिलोपटक राष्ट्र प्रमुखले मन्दिर बाहिरै नवदुर्गा भवानीको पूजाआजा तथा प्रसाद ग्रहण गरेकी थिइन्। पहिले उक्त पूजा मन्दिरभित्रको भण्डारकोठामा हुँदै आएको थियो।

उक्त पूजाआजापछि राष्ट्रपति भण्डारीलाई देवगणका मूल नाइके कृष्णकुमार वनमाला र सहायक नाइके भैलबहादुर वनमालाले नवदुर्गा भवानीको दसैंको प्रसादको रुपमा एउटा बिमिरो, पञ्चरंगी धागोको डोरी बाटिएको गोका, पञ्चरंगी धागोको पासुका, फूलमाला र दसैंघरको जमरा चढाएका थिए।

नवदुर्गा भवानीको प्रसाद ग्रहणपछि राष्ट्रपति भण्डारीलाई भक्तपुर तलेजु आगम छेंका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजु भवानीको प्रसाद अर्पण गरेका थिए।

नवदुर्गा भवानीको पूजा गर्न भक्तपुर पुगेकी राष्ट्रपति भण्डारीलाई भक्तपुर क्षेत्र नं २ का पूर्व उधोग मन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेश सांसदहरु सरस्वती बाटी, प्रतिमा श्रेष्ठ र रजनी जोन्छे, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाललगायत सरकारी तथा सुरक्षा निकायका प्रमुखहरुले फूलमाला तथा पुष्पगुच्छाले स्वागत गरेका थिए ।