इन्द्रजात्रा मनाउन पाँच करोडको कोष स्थापना गरिने  – Himalayan Dainik

इन्द्रजात्रा मनाउन पाँच करोडको कोष स्थापना गरिने 


इन्द्रजात्रा मनाउन पाँच करोडको कोष स्थापना गरिने 
काठमाडौं,भदोै २३- इन्द्रजात्रा महनाउनका लागि काठमाडौं महानगरपालिकाले पाँच करोड रुपैयाँको कोष स्थापना गर्ने भएको छ । इन्द्रजात्रालाई भव्य रुपमा सम्पन्न गर्नका लागि महानगरले उक्त रकमको कोष स्थापना गर्न लागेको जनाइएको छ ।
मेयर विद्यासुन्दर शाक्यले यसका लागि कार्यविधि बनाएर औपचारिक रुपमा अघि बढ्ने बताएका छन् । “इन्द्रजात्रा मनाउनका लागि हाल पाँच करोड रुपैयाँको कोष बनाउने तयारी भइरहेको छ । कार्यविधि बनाएपछि हामी औपचारिक रुपमै अघि बढ्छौं,” सोमबार एक कर्यक्रमबीच मेयर शाक्यले भने ।

महानगरले जात्रा भव्य र सभ्य रुपमा सम्पन्न गर्न सरोकारवाला सबैसँग अपील गरेको छ । सोमबार बिहा नेवाःजागरण मञ्चको आयोजनामा इन्द्रजात्रा व्यवस्थापन समिति र इन्द्रजात्रासँग सम्बन्धित विभिन्न समूहहरूको छलफलमा मेयर शाक्यले चाँडै आयोजना हुने इन्द्रजात्रालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न आग्रह गरेका छन् ।

इन्द्रजात्रा अवलोकनका लागि विश्वका विभिन्न देशका पाँच सहरका मेयर सहित ४८ जना विदेशी प्रतिनिधिहरू काठमाडौं आउँदै छन् ।

“विगत वर्षमा इन्द्रजात्रा राष्ट्रिय पर्वका रुपमा मात्र मनाउने गरिएको थियो,” मेयर शाक्यले भने, “यो पटक हामीले इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय स्तरमा पनि पहिचान गराउने अवसर प्राप्त गरेका छौं । पर्यटनवर्ष ०२० को नजिकमा रहेका बेला अन्तर्राष्ट्रिय पाहुना इन्द्रजात्राको अवलोकनका लागि आउनु सकारात्मक हो । इन्द्रजात्राका लागि अक्षयकोष बनाउन पहल समेत भइरहेको छ । यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत रुचि लिनुभएको छ ।”

शाक्यले इन्द्रजात्राका अवसरमा कुनै पनि राजनीतिक गतिविधि नगर्न र कुनै पनि संघ संस्थाले जात्रालाई असर पर्ने गरी कुनै क्रियाकलाप नगर्नसमेत आग्रह गरेका छन् । मेयरले गरेको अपीलमा इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य र लाखे, पुलुकिसि, श्रीकुमारी, श्री गणेश, श्री भैरव, श्री हल्चोक आकाश भैरवलगायतका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा जागरण मञ्चका संयोजक सुजिव बज्राचार्य, सरसफाइ अभियानका संयोजक राजमान मानवले मन्तव्य राखेका छन् ।