काठमाडौंमा भोलि देखि विद्युतीय बस गुड्दै – Himalayan Dainik

काठमाडौंमा भोलि देखि विद्युतीय बस गुड्दै


काठमाडौंमा भोलि देखि विद्युतीय बस गुड्दै

काठमाडौं,भदौ २२ –  काठमाडौंको सार्वजनिक यातायातमा सोमबारबाट विद्युतीय बस संचालनमा आउने भएको छ ।

ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको पहलमा पहिलो पटक  दुई वटा विद्युतीय बसबाट सेवा दिन लागेको हो ।

सुन्दर यातायात प्रालिले चीनबाट २ वटा लामा आकारका विद्युतीय बस भित्र्याउँदै भोलि बाट संचालन गर्ने भएको छ । तत्कालै ७ वटा बसमार्फत सेवा थाल्ने योजना कम्पनीको छ । केही दिनभित्रै ५ वटा बस काठमाडौं आइपुग्दैछन् । काठमाडौंमा पहिलो पटक सार्वजनिक प्रयोजनमा विद्युतीय बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको छ।

काठमाडौंमा गुडिरहेका बसहरुभन्दा फरक लाग्ने यी बस खाल्डाखुल्डीमा अगाडि नठोक्कियोस् भनेर उक्त बसलाई छुट्टै तवरले डिजाइन गरिएको छ । राम्रो ‘ग्राउन्ड क्लेयरेन्स’ राखेर बस निर्माण भएको उक्त बसको पछाडिको भागलाई पनि खाल्डाखुल्डी युक्त सडकमा जान सकिने गरी बनाइएको छ ।

बस ४० सिट क्षमता सम्मका हुन्छन् । कम्पनीले बिभिन्न रुटमा चलाउन सकिने गरी ३ किसिमका बसहरु ल्याउने लागेको छ । यसमा १०.५ मिटर, ८.५ मिटर र ७.५ मिटरका बसहरु हुनेछन् । उक्त बसहरु काठमाडौंको चक्रपथसहितका शहरभित्रका प्रायः सबै रुटहरुमा चलाउन सकिनेछ ।

कम्पनीले उक्त विद्युतीय बसलाई ४० मिनेटमै चार्ज गर्न सकिने बताएको छ । काठमाडौंमा लामो समय बस एकै स्थानमा ‘होल्ड’ गर्न नसकिने अवस्था भएकाले कम्पनीले सुपर फास्ट चार्जिङ मेसिन समेत ल्याउन लागेको छ । हाल कम्पनीमा २ घन्टामा फूल चार्ज गर्न सक्ने चार्जिङ मेसिन आइसकेको छ ।

यात्रुले यो बसमा यात्र गर्नेले स्मार्ट यात्रा कार्डमार्फत भाडा तिर्न सक्नेछन् ।