काठमाडौं, भदौं १७- पर्यटनमन्त्री योगेशकुमार भट्टराईको निर्देशनमा सुन तस्करीमा मुछिएका किशोरकुमार खत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उपप्रबन्धकबाट हटाइएको छ ।
आइतबार मात्र विमानस्थलको एक कार्यक्रममा दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्न मन्त्री भट्टराईले निर्देशन दिएका थिए । लगतै नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई विमान स्थलबाट फिर्ता बोलाएर झापा सरुवा गरेको छ ।
खत्री २२ वैशाख २०७४ मा तस्करी गरेर ल्याउँदै गरेको ४० तोला सुनसहित पक्राउ परेका थिए । त्यसबेला एयर ट्राफिक कन्ट्रोलर कर्मचारी रहेका उनले कतार एयरवेजको उडानबाट आएको मनिगा रिमालको सुन रिसिभ गरेका थिए ।
एक्सरे मेशिनमा चेकजाँचका क्रममा सुन भेटिएपछि भन्सार कार्यालयले उनलाई पक्राउ गरेको थियो । तर छानविनका क्रममा सुन तस्करीमा संलग्न नभएको भन्दै छाड्यो । त्यसपछि उनी झापाको चन्द्रगढीमा कार्यरत थिए ।
पछिल्लो समय काजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए । तर मन्त्री भट्टराईले यस्ता विवादास्पद कर्मचारीलाई नराख्न निर्देशन दिएपछि फेरि चन्द्रगढी पठाइएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।
मन्त्री भट्टराईले विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोवाइल नचलाउन समेत निर्देशन दिइसकेका छन् । उनले त्रिभुवन विमानस्थल राष्ट्रयको इज्जतसँग जोडिएको स्थल समेत भएकाले कर्मचारीले सोही अनुसार अनुशासित र मर्यादित भएर राष्ट्रको प्रतिष्ठा कायम हुने गरी काम गर्नुपर्ने बताएका छन् ।