जडीबुटी क्षेत्रको जाम हट्दै, मनोहरा करिडोर दशैंअघि नै खुल्‍ने – Himalayan Dainik

जडीबुटी क्षेत्रको जाम हट्दै, मनोहरा करिडोर दशैंअघि नै खुल्‍ने


जडीबुटी क्षेत्रको जाम हट्दै, मनोहरा करिडोर दशैंअघि नै खुल्‍ने

काठमाडौं,भदोै १२लामो समयदेखि निर्माण हुन नसकेको मनोहरा करिडोर सडक खण्ड दशैंअघि नै सञ्चालनमा आउने भएको छ। यो करिडोर सञ्चालनमा आउनासाथ  कोटेश्वर जडीबुटी क्षेत्रको सडकको जामको सास्तीबाट मुक्ति पाउने भएका छन्।

काठमाडौं तथा भक्तपुरको संगमस्थल मनोहरा नदीमा निर्माणाधीन करिडोरको निर्माण कार्य सम्पन्न भएकोले केही दिनमै मनोहरा करिडोरबाट सवारीसाधन सञ्चालनमा आउने भएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका डिभिजन प्रमुख कैलाशकुमार श्रेष्ठले बताए। उनका अनुसार  करिडोर सडकको दायाँबायाँ काम बाँकी छ। करिडोरको अन्तिम भागको निर्माण कार्य सम्पन्न भइसकेको छ।

मनोहरा नदीमा निर्माण हुने बेलीब्रिज पनि ल्याएर विभागको कार्यालयमा राखेको छ। बेलीब्रिज जडान गर्न मात्र बाँकी रहेको श्रेष्ठको भनाइ छ। केही दिनभित्रमा बेलीब्रिजको निर्माण प्रक्रिया सम्पन्न गरिसक्ने उनको विश्वास छ। प्राविधिक पक्षको कारणले ढिलाइ भएको उनको धारणा थियो।

बेलिब्रिजको निर्माणको काम अडकिएर मात्र मनोहरा करिडोर सडक खण्ड सञ्चालनमा आउन ढिलो भएको उनले प्रष्ट पारे। ‘बेलिब्रिज निर्माण कम्पनीको कारणले नै ढिलो भइरहेको छ’ उनले भने,’कम्पनीलाई छिटो गर भनेर पनि हामीले आग्रह गरिरहेका छौँ।’ भदौ महिनाभित्र बेलीब्रिजको काम सम्पन्न हुने उनले विश्वास व्यक्त गरे।

साँखु ब्रह्मखेलबाट सुरु भई ६ लेनको कोटेश्वर–सूर्यविनायक खण्डको जडीबुटीमा जोडिने मनोहरा करिडोर बालकुमारी पुलसम्म पुग्दा नौ किलोमिटर लम्बाइको हुनेछ। ३० मिटर खोलाको बहाव छाडेर किनारबाट २०/२० मिटर दायाँ–बायाँ छाडेर सडक बनाइएको छ। तीमध्ये ११ मिटरमा सडक र ९ मिटरमा ग्रिनबेल्ट निर्माण गरिएको श्रेष्ठले बताए। मनोहरा करिडोर सडकखण्ड बालकुमारीमा आएर टुंगिनेछ।