सामाजिक उत्तरदायित्व सहितको उद्यमशीलता विकास गरिनुपर्छः मन्त्री विष्ट – Himalayan Dainik

सामाजिक उत्तरदायित्व सहितको उद्यमशीलता विकास गरिनुपर्छः मन्त्री विष्ट


सामाजिक उत्तरदायित्व सहितको उद्यमशीलता विकास गरिनुपर्छः मन्त्री विष्ट
काठमाण्डाै,भदोै १२ – उत्कृष्ट १० युवा उद्यमीका नवीन उद्यमको प्रस्तुतीकरणमार्फत युवा उद्यमशीलता विकास गर्ने उद्देश्यले राजधानीमा दुईदिने बृहद राष्ट्रिय संवादको आयोजना गरिएको छ ।

यूएनडीपी नेपालको सहयोगमा राष्ट्रिय युवा परिषद् तथा राष्ट्रिय युवा सञ्जाल (आयोन)ले बुधकार आयोजना गरेको यस कार्यक्रममा युवा उद्यमीको नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गरिने छ ।

कार्यक्रमले सिर्जनशीलता र उद्यमशीलतामार्फत दिगो विकासका लक्ष्य प्राप्तीमा योगदान गर्न अभिप्रेरित गर्ने आयोनले जनाएको छ । संवाद कार्यक्रममा सातै प्रदेशबाट चयन भएका ३ सय बढी युवा उद्यमी सहभागी भएका छन् ।

कार्यक्रममा प्रत्येक प्रदेशबाट छनोट भएर आएका १० युवा उद्यमीका समूहले आ–आफ्ना उद्यमका बारेमा प्रस्तुतीकरण दिनेछन् । कार्यक्रममार्फत सबै क्षेत्रका युवालाई नेपालमा सामाजिक उद्यमको अवस्था बुझ्न, सामाजिक उद्यमशीलताका लागि आवश्यक जानकारी प्राप्त गर्न र आफ्नो व्यवसायलाई अझै मजबुत र सामाजिक परिवेश सुहाउँदो बनाउन साझा मञ्च प्रदान गर्ने विश्वास लिइएको छ ।

संवाद कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक उत्तरदायित्वसहितको उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिनुभयो । देशको सर्वाङ्गीण विकास र सामाजिक कार्यमा युवा परिचालन हुनुपर्ने उल्लेख गर्दै उहाँले युवा सशक्तिकरण भएमात्र देशको अर्थतन्त्रलाई बलियो बनाउन टेवा पुग्ने बताउनुभयो ।

‘कृषि, निर्माण, उद्योग, व्यवसाय र उद्यमी क्षेत्रमा युवाको आवश्यकता छ’, विकासमा युवाको सहभागिता विश्वासिलो हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो । वर्तमान सरकारले युवा उद्यमशीलता विकास गर्न विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको स्पष्ट पार्र्दै उहाँले सामाजिक, आर्थिक र सांस्कृतिक पाटोसँग युवालाई जोड्नुपर्ने बताउनुभयो ।

उहाँले व्यक्ति र कम्पनीलाई मात्र नभई रोजगारी सिर्जना हुनेगरी उद्यमशीलता बढाउन आवश्यक भएको बताउनुभयो । ‘उद्यमशीलता सामाजको उत्थान हुनेगरी हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘उद्यमशीलताले समाज बदल्नुपर्छ ।’

आयोन ४४ जिल्लाका ९२ युवा संस्थाकाे छाता सङ्गठन हो । सन् २००५ मा स्थापना भएको यस संसथाले युवाको नीति निर्माणमा सहभागिता, युवा पैरवी, क्षमता अभिवृद्धि तथा युवासँग सम्बन्धित अनुसन्धानलगायत कार्य सञ्चालन गर्दै आएको छ