परराष्ट्रमन्त्री ज्ञवालीको निश्कर्ष : नेपालको समृद्धि यात्रामा – Himalayan Dainik

परराष्ट्रमन्त्री ज्ञवालीको निश्कर्ष : नेपालको समृद्धि यात्रामा


परराष्ट्रमन्त्री ज्ञवालीको निश्कर्ष : नेपालको समृद्धि यात्रामा

काठमाडौं, साउन २ – शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष तुल्याउँदै वर्षौंदेखि समाधान नभएका समस्या वार्ता र संवादका माध्यमबाट हल हुनुपर्नेमा उच्च राजनीतिक नेतृत्वले मतैक्यता प्रकट गरेको छ । भारतको भौगोलिक विशालता र भूपरिवेष्टित अनि सीमित भूगोल भएको सानो नेपालले आकारको लघुताभास र मनोविज्ञानबाट मुक्त भएर विश्वकै उदीयमान भीमकाय अर्थतन्त्र भएका दुई छिमेकीसँग भूसम्पर्कको माध्यमलाई अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठानले आज ललितपुरमा गरेको ‘नेपाल–भारत सम्बन्ध स् उन्नयन र आयाम’ विषयको प्रवचनमा भारतका सामु सानो, ‘ल्याण्ड लक्ड’ को भावनाले होइन ‘ल्याण्ड लिङ्क्ड’ भएर चीन र भारतले हासिल गरेको आर्थिक समृद्धिलाई पछ्याउनुपर्ने अभिमत सुस्पष्ट ढङ्गले प्रस्तुत भयो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वासमा आधारित पारस्परिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ, सुमधुर एवं व्यापक बनेको बताउँदै एकअर्काका संवेदनशीलता बुझ्ने र आफ्नो भूमि एकअर्काकाविरुद्ध प्रयोग हुन नदिन प्रयोग हुन नदिनेमा नेपाल सचेत रहेको स्पष्ट गर्नुभयो । पञ्चेश्वर बहुद्देश्यीय आयोजना निर्माण, डुबान समस्या, सीमा व्यवस्थापन, सीमापार आपराधिक गतिविधि नियन्त्रणलगायत विषय निरुपणमा साझेदारी भइरहेको जानकारी दिँदै उहाँले आपसी मामिलाका टुङ्गिन बाँकी रहेका मुद्दा संवादको माध्यमबाटे समाधान गरिने बताउनुभयो ।

मन्त्री ज्ञवालीले नेपालको सामाजिक–आर्थिक विकासका साथै समृद्धितर्फको यात्रामा भरपर्दो छिमेकी भारतसँगको सहकार्यमा जोड दिइएको बताउनुभयो । उहाँले दुई मुलुकबीचको पर्यटन विस्तार तथा व्यापार असन्तुलन घटाउन नेपालले चाहेको बताउनुभयो ।

नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले सात दशकयता दुई देशबीच घनिष्ठ सहकार्य रहँदै आएको र नेपालको समृद्धिका लागि त्यो सहकार्यलाई अझै घनीभूत तुल्याउन भारत प्रतिबद्ध रहेको बताउनुभयो । अरुण तेस्रो जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन हुन थालेपछि नेपालले आर्थिक विकासमा फड्को मार्ने बताउँदै ‘समृद्ध नेपाल खुशी नेपाली’ को परिकल्पना साकार पार्ने वर्तमान सरकारको लक्ष्यलाई भारतले हरतरहले सघाउने दृढता व्यक्त गर्नुभयो ।