राजधानीमा मोटरसाईकल छान्दै चोरी गर्ने समूह सक्रिय – Himalayan Dainik

राजधानीमा मोटरसाईकल छान्दै चोरी गर्ने समूह सक्रिय


राजधानीमा मोटरसाईकल छान्दै चोरी गर्ने समूह सक्रिय

काठमाडौं,असार २२- राजधानीमा पछिल्लो चरणमा नयाँ नयाँ मोटरसाईकल छान्दै चोरी गर्ने समूह सक्रिय देखिएको छ । ट्राफिक प्रहरीको बग्गीखानामा कार्यरत एक प्रहरी अधिकारीका अनुसार औषतमा हरेक दिन मोटरसाईकल चोरीका घटनाहरु आउँने गरेका छन ।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय नयाँ मोटरसाईकल चोरीका घटनाहरु बढेका छन । प्रहरीमा आउने धेरैजसो उजुरीमा नयाँ मोटरसाईकल चोरी भएको र त्यसमा पनि बजाज कम्पनीको २२० सिसिको पल्सर मोटरसाईकल चोरी हुने गरेको देखिन्छ ।

प्रहरी अधिकारीले भने–‘पहिले पहिले चोरहरुले जस्तो भएपनि चोरी गर्ने गरेको देखिन्थ्यो तर पछिल्लो समय नयाँ र राम्रा गाडीहरु नै चोरी हुने गरेको पीडितहरुको उजुरीका आधारमा देखिन्छ । ट्राफिक प्रहरीले त्यसको नियन्त्रण तथा खोजिको कार्य गरिरहेको छ ।’

केही समयअघि राजधानीमा पकेटमार, घरमा डकैति, चोरीका घटनाहरु ह्वात्तै बढेकोमा प्रहरीको विशेष पहलमा ठूलो संख्यामा त्यस्ता चोरीका घटनामा संलग्नहरुलाई पक्राउ गरेपछि त्यस्ता घटनामा केही कमि आएको देखिन्छ ।

राजधानीका कतिपय स्थानमा ट्राफिक प्रहरीको सिसिक्यामरा राखिएको छ, धेरै ठाउमा बिट, वृत र चौकिहरु राखिएका छन तर चोरले दिउँसै कसरी सामानहरु गायव गर्छ ? यो प्रश्न त्यस्ता घटनाहरुले निक्कै गम्भिर रुपमा उठान गरेको छ ।

केहीदिन अघि मध्यवानेश्वर स्थित प्रहरीको बिट भन्दा करिब २०० मिटर अगाडीबाट दिउँसै पाँच मिनेटको अन्तरमा नयाँ मोटरसाईकल चोरी भएको छ । चोरी भएको थाहा भएपछि नजिकको प्रहरी मार्फत जानकारी तथा खोजबिनको निवेदन समेत भयो तर हप्तादिन बित्दापनि त्यसको सुईको सम्म प्रहरीले नलगाएको भन्दै पीडितले गुनासो गरेका छन ।