पर्यटकीय नगरी लुक्लाका हरेक घर होटल – Himalayan Dainik

पर्यटकीय नगरी लुक्लाका हरेक घर होटल


पर्यटकीय नगरी लुक्लाका हरेक घर होटल

काठमाडौं,जेठ २८

विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको प्रवेशद्वारका रुपमा परिचित सोलुखुम्बुको लुक्ला बजारमा जति घर छन्, ती सबै होटल हुन् ।

लुक्लामा करिब एक सय घरधुरी छन् । ती सबैमा होटल सञ्चालन गरिएको छ । दैनिक सयौं पर्यटकको आवतजावत हुने सो बजारका सबै घर होटलका रुपमा विस्तार भएका छन् ।

होटल व्यवसायी राप्के छिरिङ शेर्पाका अनुसार लुक्लामा एक रातमा दुई हजारभन्दा बढी पर्यटक राख्न सकिन्छ । होटल व्यवसाय नै मुख्य पेशाका रुपमा अँगालेका लुक्लाका स्थानीयले आफ्नै घरलाई होटल बनाएर सञ्चालनमा ल्याएका हुन् ।

विषेश गरी विदेशी पर्यटक आउने लुक्लामा ठूला होटल दुई ओटा छन् । एभरेष्ट समिट र यति माउन्टेन त्यहाँका सबैभन्दा महँगा होटल हुन् । ती होटलमा एक रातको दुई सय डलरसम्म तिर्नुपर्छ ।

पदयात्री प्रायः लुक्लाबाट हिँड्ने हुँदा वसन्त ऋतुमा त्यहाँ हवाई चाप बढी हुने गर्छ । सगरमाथा आरोहण र पदयात्रामा जानेका लागि लुक्ला पुग्ने एक मात्र यातायातको विकल्प भनेको विमान हो ।

सगरमाथा हिमालको प्रथम आरोही सर एड्मन्ड हिलारीले हिमाल आरोहणका सामान ल्याउनका लागि लुक्ला विमानस्थल बनाएका थिए । सन् १९७१ देखि सञ्चालनमा आएको सो विमानस्थल हिलारीको सम्मानमा तेन्जिङ हिलारी विमानस्थलको रुपमा नामकरण गरिएको हो ।

समुन्द्र सतहभन्दा दुई हजार ८ सय मिटरको उँचाइमा रहेको लुक्लामा वर्षेनि हजारौं पर्यटक सगरमाथाको आधार शिविरतिर जाने गर्छन् ।