लोककला कार्यशाला सम्पन्न – Himalayan Dainik

लोककला कार्यशाला सम्पन्न


लोककला कार्यशाला सम्पन्न

काठमाडौंको,जेठ २२

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको केन्द्रीय कार्यालयमा चार दिवसीय आवासीय लोककला कार्यशाला सम्पन्न भएको छ ।
प्रतिष्ठानको लोककला विभागद्वारा आयोजित कार्यशालामा मिथिला चित्रकला, नेवार कला, थारु कला, राजवंशी कला, तामाङ कलालगायतका कला क्षेत्रका ३७ जना कलाकार सहभागी थिए ।
ती कलाकारले चार दिनको अवधिमा आआफ्नो कला, संस्कृति र परम्परा सुहाउँदो जम्मा ४० वटा चित्र कोरेका थिए ।
कार्यशालामा सरिता चित्रकार, संजय वान्तवा, सूर्य बहादुर चित्रकार, रन्जु यादव, लक्ष्मण मण्डल, पुनम दास, सरिता मण्डल, हरेराम यादव, विरेन्द्र राजवंशी, बसन्ती चौधरी, गीता ठाकुर, राजन महर्जन, रेखा ठाकुर, शिवछाङ्छ राई र लेख मगरलगायतका लोक चित्रकार सहभागी थिए ।
लोककला विभागकी प्रमुख मिथिला देवी यादवको अध्यक्षता र प्रतिष्ठानको उपकुलपति गोपाल चित्रकारको प्रमुख आतिथ्यमा सोमबार प्रतिष्ठानकै प्रदर्शनी हलमा एक समारोहकाबीच कार्यशाला सम्पन्न भयो । समापन समारोहलगत्तै कार्यशालामा सिर्जित कलाचित्रहरुको प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी प्रतिष्ठानकै प्रदर्शनी हलमा असार ५ गतेसम्म चल्ने छ ।
लोककला विभाग प्रमुख एवम् वरिष्ठ मिथिला चित्रकार यादवले नेपालमा छरिएका रहेका मौलिक लोककलाको संरक्षण, विकास र विस्तारका लागि कार्यशाला आयोजना गरिएको बताउनुभयो ।
यस आवासीय कार्यशालाअगाडि प्रदेश २ को सप्तरी र प्रदेश ५ को दाङमा लोककला कार्यशाला सम्पन्न गरिएको र अब मुलुकका अन्य स्थानमा पनि यस्तै कार्यशाला र प्रदर्शनीहरु आयोजना गर्ने यादवको भनाइ छ ।
कार्यशालाको उद्घाटन उक्त प्रतिष्ठानका पूर्वकुलपति शारदा चित्रकारले जेठ २४ गते शुक्रबार गर्नु भएको थियो ।