के हामीपछि इतिहासको अन्त्य हुन्छ ? – Himalayan Dainik

के हामीपछि इतिहासको अन्त्य हुन्छ ?


के हामीपछि इतिहासको अन्त्य हुन्छ ?

अहिले दुईवटा असाध्यै ज्वलन्त प्रश्न दुनियाँका अगाडि छन् । नेपाल स्वाभाविक रूपमा विश्वको एउटा अंश हो, त्यसैले नेपाललाई अलग गरेर बुझ्न सकिँदैन । यसमा धेरैको ध्यान गएको छैन, तर यसबारे हामीले चिन्तन नगरी पनि भएको छैन । पहिलो प्रश्न के हो भने, आज समग्र युरोप हुँदै अमेरिकासम्म पुँजीवाद संकटमा छ । कार्ल मार्क्सले पुँजीवादले आफ्नो चिहान आफैँ खन्छ भनेजस्तै ऊ आज आफ्नै कारणले चिहानसम्म आइपुगेको छ । विश्वभरका पुँजीवादी चिन्तक आज पुँजीवाद वास्तविक संकटमा आइपुगेको बताइरहेका छन् । कुनै समय थियो, जतिवेला पुँजीवादले आफूलाई विजेता घोषित गरेर इतिहासको अन्त्य भइसक्यो भनेर माक्र्सवादको औचित्य नरहेको बताउँदै थियो । तर, तिनै चिन्तक आज पुँजीवादलाई कसरी जोगाउने र यो संकटबाट कसरी उम्कने ? भनेर मार्क्सको पुँजीलाई दोहो-याएर पढ्न बाध्य छन् । यसैगरी, दोस्रो प्रश्न के हो भने, आज दुनियाँभर देखिएको पुँजीवादी संकटको विकल्पमा माक्र्सवादको प्रयोग र विकास जसरी हुनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन । मार्क्सवादी क्रान्तिकारीले आजको पुँजीवादी संकटलाई मार्क्सवादी संकटमा रूपान्तरण गरेर अगाडि बढ्नुपर्ने थियो, तर दुःखको कुरा त्यस्तो पनि हुन सकेन । वास्तवमा विश्वमा देखिएको पुँजीवादी संकटलाई मार्क्सवादी राजनीतिक दर्शनबाट हल गर्नुपर्ने थियो । मार्क्सवादले यसको समाधान दिन सकिरहेको छैन ।

अवस्था कस्तो देखिएको छ भने, वर्तमान पुँजीवादी संकटलाई माक्र्सवादी राजनीतिक दर्शनबाट हल गर्न लेनिनको पालाको जस्तो स्प्रिट भएको संगठन विश्वमा विद्यमान हुन्थ्यो भने अमेरिका, बेलायत, फ्रान्स र युरोपलगायत देशमा एकैपटक क्रान्ति सम्पन्न भई साम्यवाद स्थापना भइसक्ने थियो । समाजवादी अथवा साम्यवादी मूल्य भनेको कस्तो हो भने त्यहाँ प्रतिस्पर्धा होइन कि सहकार्यलाई बढावा दिइन्छ । समाजवादी शिक्षा प्रणालीमा विद्यार्थी पछार्ने एम्बुसजस्ता परीक्षा प्रणाली हुँदैनन् । आफ्नै सहपाठीलाई उछिन्नुपर्ने बाध्यात्मक व्यवस्था त्यहाँ रहँदैन । बरु त्यहाँ त आफ्ना सहपाठीसँग सहकार्य गरेर नयाँ विषयको खोज, अनुसन्धान गर्न प्रेरित गरिन्छ ।

दुनियाँभर देखिएको पुँजीवादी संकटको विकल्पमा मार्क्सवादको प्रयोग र विकास जसरी हुनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन

त्यसैले समाजवादले सत्यलाई कबुलेको हुन्छ । सत्यलाई कबुल्नुको अर्थ हरेक व्यक्तिमा आ–आफ्नै विशेषता र प्रतिभा छन् भन्ने स्विकार्नु हो । जस्तै, गणितमा ‘क’ बहादुर अघि छ भने, संगीतमा फूलकुमारी अगाडि हुन सक्छिन् । ती दुवैमा के तुलना गर्ने ? ‘ग’लाई इतिहासबारे रुचि हुन सक्छ भने हर्कबहादुरलाई प्रकृति विज्ञानमा रुचि हुन सक्छ तिनका बीच कुन आधारमा प्रतिस्पर्धा गराउने ? कुन आधारमा ती एकभन्दा अर्को अब्बल हो भनेर घोषित गर्ने ? पुँजीवादले निर्माण गरेको व्यवस्थाकै कारण अहिले विश्वविद्यालयमा इतिहास, राजनीतिशास्त्र पढ्ने विद्यार्थीको संख्या घट्दै छ । के हामीले समाजबारे अध्ययन, मनन नगर्ने मेसिन उत्पादन गर्न खोजेको हो ? के हामीले आलोचक नभएर दास मनोवृत्तिका शिक्षित उत्पादन गर्न खोजेको हो ? यी र यस्ता कैयौँ विषयमा माक्र्सवादले प्रश्न मात्र होइन कि समाधान देखाउनुपर्ने थियो ।

मानिसको शरीरको कुनै ठाउँ सड्न पुग्यो भने सडेको ठाउँको शल्यक्रिया गरेजस्तै मार्क्सवादले समाजका सडेका विचार र चिन्तनको शल्यक्रिया गर्नुपर्ने थियो, तर मार्क्सवादको विकास त्यसरी हुन सकेको छैन । बरु त्यसको उल्टो हाम्रोमा राजनीतिक पार्टी सड्न थालेका छन् । राजनीतिक पार्टीको सड्ने क्रियालाई दुई लाइन संघर्षबाट ठीक गर्नुपर्ने थियो, तर त्यो पनि हुन सकिरहेको छैन । जनवादी र प्रगतिशील भनिएका पार्टीभित्र पनि जनवाद हराउँदै केन्द्रीयताको नाममा अरू नै केही हावी हुन थालेको छ । मार्क्सवादीले यस विषयमा चिन्तन गर्नुपरेको छ । क्रान्तिको नक्कल हुँदैन भनेजस्तै एउटै शैली फेरि दोहोरिन सक्दैन भन्ने बुझ्नुपर्ने । हाम्रो समाज र माटोअनुसारको नयाँ तरिका हामीले खोज्नुपरेको छ ।

किताबमा लेखेजस्तो समाजमा घटित हुँदैन । हामी मार्क्सवादीले चिन्तन गर्दै माक्र्सवादका ज्यावल प्रयोग गरेर नेपाली समाजको सामाजिक आर्थिक प्रणाली, वर्ग चरित्र, मजदुर, किसानको वास्तविक धरातल, मान्छे-मान्छेबीचको सम्बन्ध, पारिवारिक विघटन र सम्बन्धका आधार, उत्पादित वस्तुमाथिको स्वामित्व र सत्तामा कुन वर्गका समूहको प्रभूत्व छ लगायत विषयको व्याख्या गर्दै अघि बढ्नुपर्ने हो । तर, यी यावत् विषयको चिन्तनमा यहाँ मात्रै होइन, विश्वस्तरमै अभाव देखिएको छ । मार्क्सवाद यी यावत् विषयमा चिन्तन नगरी दैनन्दिन उतारचढावमा रुमल्लिन पुगेको कुरा हामीले स्विकार्नैपर्छ । समाजका यावत् विषयको चिन्तन गर्दै गर्दा अर्नेस्टो चे ग्वेभाराले भनेको युक्ति सान्दर्भिक हुन आउँछ । उनले एकजना फ्रेन्च पत्रकारलाई भनेका थिए- ‘समाजमा यदि समानता नै देखिन्छ वा उत्पादनका वस्तुको वितरण समान रूपमै भएको छ भने पनि म त्यसलाई समाजवाद मान्दिनँ, जबसम्म त्यहाँ समाजवादी मूल्य कायम हुँदैन ।’ पुँजीवादले आफूलाई टिकाउनकै लागि लोककल्याणकारी राज्यको अवधारणा ल्याइसक्यो भने के त्यहाँ समाजवाद आएको मान्ने ? होइन । त्यसैले हामीले राज्य व्यवस्थामा समाजवादी मूल्य कायम हुन सकेको छ कि छैन भन्ने हेर्नुपर्छ ।

नेपालमा अहिले देखिएको सरकार र राज्यसत्ता के समाजवादी राज्यसत्ता हो ? सरकारमा कम्युनिस्ट पार्टीका नेता कार्याकर्ताको हालिमुहाली छ भन्दैमा सत्ताको चरित्र समाजवादी हुन्छ ? खोइ यस विषयमा हाम्रो राजनीतिक वृत्तमा छलफल अथवा बहस भएको ? सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र आउनुभन्दा दुई सय वर्षअघि समाजवादको कुरा भएको थियो । गेरार्ड, बेबोफले सन् १६४२ तिरै समाजवादको परिकल्पना गरेका थिए । यहाँ के भइदियो भने क्रान्तिकारीका सपनाविपरीत राज्य बलियो भयो । जुन राज्यको विकल्पमा कम्युन भनिएको थियो, त्यो कम्युन सफल हुन सकेन । तर, जुन राज्य विवेकपूर्ण, कानुनसम्मत हुनेछ भनिएको थियो, त्यो त तानाशाही भइदियो । राज्य झन्–झन् बलियो भयो । यसको विकल्पमा नयाँ अवधारणा दिने मार्क्सवादी स्वयं राज्यको प्रणालीमा ‘कोअप्ट’ भइदिए । पुरानो राज्यसत्तालाई चुनौती दिने क्रान्तिकारी वर्तमान राज्यसत्तामा ‘कोअप्ट’ भइदिएको हामीले छर्लङ देखिरहेका छौँ ।

माक्र्सवादले समाजका सडेका विचार र चिन्तनको शल्यक्रिया गर्नुपर्ने थियो, तर माक्र्सवादको विकास त्यसरी हुन सकेको छैन । बरु त्यसको उल्टो हाम्रोमा राजनीतिक पार्टी सड्न थालेका छन् । राजनीतिक पार्टीको सड्ने क्रियालाई दुई लाइन संघर्षबाट ठीक गर्नुपर्ने थियो, तर त्यो पनि हुन सकिरहेको छैन ।

यही अर्को प्रश्न ठिंङ उभिन आइपुग्छ- यदि यस्तै हुँदै जाने हो भने नेपालमा के फेरि विद्रोह सम्भव छ ? मलाई लाग्छ, भविष्य हुन्जेल, आशा हुन्जेल, सपना हुन्जेल विद्रोहको सम्भावना रहन्छ । अल्बर्ट कामुले आफ्नो पुस्तक ‘द रिभेल’ र ‘द मिथ अफ सिसिफस’मा यसबारे लेखेका छन् । सिसिफसमा उनले बाँच्नुको अर्थ नभएपछि किन नमर्ने भन्नेबारे प्रश्न गरेका छन् । भन्नुको अर्थ समाजमा सबै आशा छिन्नभिन्न भएपछि मान्छेले बाँच्नुको सार देख्दैन । अनि मृत्यु किन नअँगाल्ने भन्नेबारे प्रश्न गर्छ । तर, आशा भएको मान्छे त विद्रोह गर्न चाहन्छ । सबै क्रान्तिकारी लेखक तथा विचारकबीच एउटा समान चिन्तन पाइन्छ, सपना र भविष्य देख्ने मान्छे विद्रोही हुन्छ । जसरी चे ग्वेभाराले भनेका छन्– ‘प्रेम र सपना नभएको मान्छे क्रान्तिकारी हुन सक्दैन ।’ कामुले– ‘प्रेममा नडुबेको मान्छे विद्रोही हुन सक्दैन, किनभने विद्रोही हुनु भनेको भविष्य छ, जीवनको अर्थ छ भन्नु हो’ भनेका छन् । त्यसैले विद्रोही चेत नभएको मान्छेले समाजवादको सपना देख्न सक्दैन ।

नेपालमा यसो हे-यो भने, दुई-चारजना गँजडीले विद्रोहको काम छैन । क्रान्ति सम्भव छैन । अब समृद्धितिर जानुपर्छ भन्ने गरेको सुनिन्छ । पेटभरि खाएर समृद्धितिर जानुपर्छ भन्दै गर्दा भोको पेट भएको गरिबले कसरी मान्छ ? त्यसैले हामी पूर्वक्रान्तिकारीले हाम्रो धरातल के हो ? हामी कहाँबाट आएका हौँ ? हाम्रो जनाधार कहाँ हो ? भन्ने बिर्सनुहुँदैन । आखिर हामीले कहीँबाट सुरुवात त गरेका थियौँ होला ?

अनि त्यसलाई बिर्सिएर हामी कहाँ जान खोजेको हो ? अहिले सबै शान्त र सामान्यजस्तो देखिएको छ । यो अवस्था विद्रोहपछि आएको हो । यति भन्दै गर्दा हामीले विद्रोही र क्रान्तिकारीबीच अन्तर गर्न चुक्नुहुँदैन । यस्तो अन्तर कामुले गरेका थिए । क्रान्तिकारी एउटा निर्दिष्ट कार्यक्रम, लक्ष्य र ढाँचामा अघि बढ्छ र त्यो प्राप्त भएसँगै त्यसको जिम्मेवारी सकिन्छ । तर, विद्रोही क्रान्तिपछि पनि चुप लागेर बस्दैन । ऊ सत्तामा पुगेका आफ्नै साथीलाई पनि प्रश्न गरिरहन्छ । लेनिन सत्तामा आएपछि अलेक्जेन्ड्रा कोलन्ताई, रोजा लग्जेम्बर्गहरूले त्यही गरेका हुन् । माओत्से तुङले त आफ्नै पार्टीविरुद्ध क्रान्तिकारी विद्रोही भन्ने शब्दको प्रयोग गरेका छन् । वास्तवमा हामी जाने भनेको राज्यविहीन अवस्थामै हो । रोजाले त लेनिनको आलोचना गर्दै यो माक्र्सवाद हो कि लेनिनवाद भनेर प्रश्न गरेकी छन् । उनको लेख नै ‘माक्र्सवाद कि लेनिनवाद ?’ भन्ने छ ।

नेपालमा विद्रोहको काम छैन । क्रान्ति सम्भव छैन । अब समृद्धितिर जानुपर्छ भन्ने गरेको सुनिन्छ । पेटभरि खाएर समृद्धितिर जानुपर्छ भन्दै गर्दा भोको पेट भएको गरिबले कसरी मान्छ ? त्यसैले हामी पूर्वक्रान्तिकारीले हाम्रो धरातल के हो ? हामी कहाँबाट आएका हौँ ? हाम्रो जनाधार कहाँ हो ? भन्ने बिर्सनुहुँदैन ।

विचारका हिसाबले पश्चिमातर्फ हामीले धेरै हेर्ने गर्छौं । हामीले हाम्रा दार्शनिकलाई पनि हेर्नुपर्ने हुन्छ । पछिल्लो समय हाम्रोमा दुईजना वास्तविक चिन्तक थिए । हामी उनीहरूको विचारमा सहमत नहुन सक्छौँ, तर उनीहरूले राखेको विचार धेरै हदसम्म समाजसुहाउँदो थियो । जसमा पहिलो, माओत्से तुङ र दोस्रो, गान्धी पर्छन् । हामीले बुद्ध, जनक, कपिल, गार्वी, किरात सभ्यता पढाउने कोसिस नै गरेनौँ । काठमाडौंको काष्ठकलाले अहिले पनि युरोपसँग प्रतिस्पर्धा गर्छ, तर हामीले त्यसलाई पढाउने संस्कार नै बसालेनौँ । त्यसैले नेपालजस्ता देश यी चिन्तकको ज्ञान परम्पराबाट कट्यो । हामीसँग ज्ञानको भण्डार नै छैन । हुँदाहुँदा कतिपय राजनीतिज्ञ र सत्ताधारीमा ज्ञानप्रति अनाशक्ति, ईश्र्या देखिन्छ । हाम्रोमा माओ र गान्धीबारे धेरै बहस नै भएन । उनीहरूको विचारमा पश्चिमाले बहस गर्ने कुरै थिएन ।

मार्क्सवादलाई यदि साँचो अर्थमा हामीले समृद्ध बनाउने हो भने यसलाई धर्मग्रन्थको रूपमा होइन कि विचारधाराको रूपमा बुझ्दै त्यसमा थप संशोधन र परिमार्जन गर्दै अगाडि बढ्नुपर्छ । त्यसका लागि हामीले हाम्रो समाजको यावत् अन्तरविरोधलाई चिन्नु र पहिल्याउनुपर्नेछ । जस्तो कि हामी कहाँबाट आयौँ ? हामीले हाम्रो जीवन केका लागि समर्पित गर्ने ? तर, हाम्रो यहाँको परम्परा त लेख्नका लागि लेखिदिने, बोल्नका लागि बोलिदिने जस्तो छ । मानिलिनुस्, यसको जीवनसँग कुनै साइनो नै छैन ।

जस्तै, माओवादीले पारित गरेको ‘२१औँ शताब्दीको जनवाद’ साँचो अर्थमा महत्वपूर्ण दस्ताबेज हो । तर, त्यसको मूल प्रस्तावनाबारे हामीले कुनै बहस नै गरेनौँ । त्यसमा हामीले स्पष्ट रूपमा- हाम्रो स्थायी सेना हुने छैन, सरकारमा आलोपालो गरिनेछ, मूल नेतृत्व सरकारमा जाने छैन, जनतालाई मिलिसियाको तालिम दिइनेछलगायत तमाम विषय उठाएका थियौँ । त्यसैगरी, हामीले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमका विषयमा पनि कहिल्यै बहस गरेनौँ । जबज माक्र्सवादी विचारधारामा उभिएको छ कि छैन ? जबज माक्र्सवादको विकास हो कि होइन ? हो भने कसरी ?, होइन भने कसरी ? यस्ता विषयमा विहंगम बहस हुनुपर्नेमा हामी कसैले यसलाई गम्भीरतासाथ पढेनौँ । मदन भण्डारीलाई उनको मृत्युपछि बढाई–चढाई गरेर त्यसलाई सत्तामा पुग्ने भ-याङको रूपमा मात्रै प्रयोग ग-यौँ ।

त्यसैले रणनीतिक नीतिविना गरिने दैनन्दिनको राजनीति अवसरवाद हो । अवसरवादले समाजलाई राम्रो ठाउँमा लैजाँदैन । नेकपाले यी आधारभूत विषयमा काम गर्न सक्नुपर्छ । त्यसो गर्ने नसक्ने हो भने हामी जुन धरातलबाट आएका हौँ, त्यो धरातल फेरिँदै जान्छ र झन्डा माक्र्सवादको रहन पुग्छ । माक्र्सवादी आधारमा नटेकेपछि के हुन्छ इतिहासले हामीलाई देखाइसकेको छ- फ्रेन्च क्रान्तिमा एकले अर्काको गला काटेझैँ नकाटे पनि निषेध गर्ने त भइहाल्छ ।
हामी आफैँ पुरानो पिँढीलाई निषेध गरेर यहाँसम्म आइपुगेका हौँ भने हामीलाई निषेध गरेर अरू अघि आउँदैनन् भन्ने आधार के छ ? के हामीपछि इतिहासको अन्त्य हुने हो र ?