एकै परिवारका चार भाइ चोरीमा संलग्न – Himalayan Dainik

एकै परिवारका चार भाइ चोरीमा संलग्न


एकै परिवारका चार भाइ चोरीमा संलग्न

उपत्यकामा चोरी तथा ठगीमा एकै परिवारका चार भाइ संलग्न रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ । उनीहरूसँग चोरी गर्ने रमेश घिसिङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् भने लालबहादुर घिसिङ केही महिनाअघि जेलबाट छुटेका छन् । उमेश, प्रेम, रमेश, र लालबहादुर  सहोदर दाजुभाइ हुन् ।

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले एकै परिवारका चार भाइ संगठितरूपमा चोरी तथा ठगी धन्दामा संलग्न रहेको पाइएको बताए । उनले भने, ‘चोरी कार्यमा एकै परिवारको चार भाइ  संलग्न रहेको पाइयो । जसमध्ये दुईजना हाम्रो हिरासतमा छन् । एक सेन्टर जेलमा छन् । एक भने भर्खरै जेलबाट छुटेर गाउँ गएका छन् । उनीहरूले उपत्यकाभित्र संगठित भएर चोरी गर्ने गरेको पाइयो ।’

प्रहरीले प्रेम, उमेश र दानबहादुरलाई बढी मूल्यमा डलर साटिदिने भन्दै ठगी कार्यमा संलग्न रहेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरूले विशेषगरी, विदेशबाट आएकालाई ठग्ने गरेका थिए । उनीहरूले नयाँ बसपार्क, बालाजु, माछापोखरी, सामाखुसी र गौशालालाई आधार क्षेत्र बनाएका थिए । डिएसपी बोगटीले भने, ‘उनीहरूले डलरको आकारमा कागजको बन्डल बनाउँथे । बन्डलको अघि र पछि सक्कली डलर राख्थे । भित्र कागज राख्थे । सोही बन्डल महँगोमा साटिदिने भन्दै ग्राहकसँग बार्गेनिङ गर्थे । प्रलोभनमा फसेका ग्राहक उनीहरूले भनेअनुसार नै गर्थे । रकम लिएपछि उनीहरू फरार हुन्थे । यही क्रममा उनीहरू पक्राउ परेका हुन् ।’

अधिकांश पटके
प्रहरीका अनुसार चोरी गर्दागर्दै समूहमध्येका कोही सदस्य पक्राउ परे जेलबाट छुटाउनेदेखि परिवारका सदस्यलाई हेरचाह गर्ने जिम्मा बाहिर बसेकाले लिन्थे । जेलबाट छुटेपछि फेरि पुरानै धन्दामा सक्रिय हुन्थे । उनीहरूले वर्षांैदेखि चोरी र ठगी धन्दा चलाउँदै आएको प्रहरीको दाबी छ । डिएसपी बोगटीले भने, ‘पक्राउमध्ये अधिकांश पटके छन् । उनीहरूको आफ्नै नियम रहेछ । जो जेलमा पर्छ । उसलाई छुटाउनेदेखि खर्च बाहिर बसेकाहरूले गर्थे । परिवारका सदस्यलाई हेरचाह गर्ने जिम्मा पनि उनीहरू नै लिन्थे । आलोपालो गर्दै उनीहरूले वर्षौंदेखि चोरी र ठगी धन्दा चलाइरहेको पाइएको छ ।’