कोरोना जितेर घर फर्किएकालाई विशेष व्यवस्था गर्न मन्त्रालयको आग्रह – Himalayan Dainik

कोरोना जितेर घर फर्किएकालाई विशेष व्यवस्था गर्न मन्त्रालयको आग्रह


कोरोना जितेर घर फर्किएकालाई विशेष व्यवस्था गर्न मन्त्रालयको आग्रह

काठमाडौँ, २८ वैशाख – सरकारले कोरोना भाइरस (कोभिड–१९)लाई जितेर घर फर्किएकालाई परिवारमा नै बस्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

केही ठाउँमा कोरोना सङ्क्रमणपछि निको भएर फर्किएकालाई पनि घर परिवारबाट टाढा राख्ने गरेको गुनासो आएको भन्दै स्वास्थ्य मन्त्रालयले त्यसो नगर्न आग्रह गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोनालाई जितेर घर फर्किएकाले भाइरस सार्छन् भन्ने भ्रममा नबस्न आग्रह गर्नुभयो । उहाँले भाइरसलाई जितेर फर्किएकाको शरीरमा कुनै सङ्क्रमण सार्ने भाइरस नहुने र उनीहरु सामान्य जीवनयापनमा फर्किसकेकाले परिवारमा नै बस्ने वातावरण बनाउन सहयोग गरिदिन अनुरोध गर्नुभयो ।

कोरोना भाइरसको भय र त्रासका कारण समाजमा हल्ला र मिथ्या फैलिएकाले त्यस्तो हल्लाकोपछि लागेर विभेद नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो । यस्तै मन्त्रालयले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बनाइएका क्वरेण्टीनलाई बालमैत्री बनाउन पनि आग्रह गरेको छ ।

नेपालमा हालसम्म ११० जना संक्रमित भएका छन् भने सङ्क्रमितमध्ये ३१ उपचारपछि निको भएर घर फर्किएका छन् ।