काठमाडौं, जेठ २९
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो कुटनीतिक सम्बन्ध स्थापना भएको मुलुक बेलायतका प्रधानमन्त्री टेरेसा मे संग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीका ओली र बेलायती समकक्षीबीच दुई देशको विकास साझेदारी, पर्यटन प्रवद्र्धन र बृटिश गोर्खाको विषयमा कुराकानी भएको छ ।
अर्यालका अनुसार बृटिश गोर्खा सैनिकको सम्बन्धमा सन् १९४७ मा नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय सन्धी पुरानो भएकोले अब भर्ती, अवकाश तथा अवकाशपछिको अवस्था समेट्ने गरी नयाँ व्यवस्था गर्नुपर्ने र अब नेपाल र बेलायतबीच दुई पक्षीय सन्धी गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।
प्रधानमन्त्री ओलीले मंगलबार नै लण्डनको क्याभाल्री क्लबमा आयोजित कार्यक्रमा व्यापारिक समुदायलाई सम्बोधन गर्दै नेपाल लगानीको लागि आकर्षक स्थल रहेको र अहिले आर्थिक नीति र नियमहरु अल्मल्याउने खालका नरहेको, महत्वपूर्ण कानुनहरु संसदले पास गरेको र लगानी संरक्षण हुने भन्दै लगानीको लागि आग्रह गर्नुभयो।
प्रधानमन्त्री ओली स्वीजरल्याण्डको जेनेभाबाट लण्डन आइपुग्नु भएको थियो । उहाँलाई बिमानस्थलमा बेलायतका आर्मड फोर्सेज सम्बन्धी राज्यमन्त्री मार्क लान्कास्टर र बेलायतका लागि नेपालका राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गनुभएको थियो । प्रधानमन्त्री ओलीले बेलायतको अक्सफोर्ड युनियनद्वारा आयोजित कार्यक्रमलाई समेत सम्बोधन गनुभएको थियो ।
बेलायती समकक्षीलाई भेट्नु अघि मंगलबार उनले नेपाली दूतावास लण्डनमा बेलायतमा रहेका बृटिश गोर्खामा आवद्ध नेपालीहरुसँग भेटेर सल्लाह समेत लिनुभएको छ ।