काठमाण्डौ – नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन (नेविसङ्घ) को नाम परिवर्तन गरी (वि.बि.सङ्घ)राख्नुपर्ने बताएका छन ।
आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाल विद्यार्थी सङ्घको नाम परिवर्तन गरी विश्वविद्यालय बिगार्ने सङ्घ राख्न आग्रह गरेका हुन । उनले नेविसङ्घकै कारण अहिले त्रिभुवन विश्वविद्यालयको दुर्दशा भइरहेको भन्दै शिक्षा ग्रहण गर्ने ठाउँमा जुन समयमा पनि तालाबन्दी भइरहेको बताएका छन ।
उृनले भने , ‘यो तालाबन्दी कुनै आन्दोलनकारीबाट, कुनै अन्य विद्यार्थी सङ्गठनबाट भएको छैन । यो तालाबन्दी सत्तारूढ पार्टीको, त्यसमा पनि प्रधानमन्त्रीको पार्टी, त्यसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट भएको छ । नेपाल विद्यार्थी सङ्घको नाम अब परिवर्तन गरेर वि.बि.सङ्घ अर्थात् विश्वविद्यालय बिगार्ने सङ्घ राख्न म प्रस्ताव गर्न चाहन्छु । यो हालतमा विश्वविद्यालय पुर्याइँदैछ ।’
