काठमाडौँ — परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पाटनर्सिप प्रोग्राम (एसपीपी )मा सहभागी नहुने विषयमा अमेरिकासँग पत्रचार भइनसकेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले यस विषयमा अध्ययन भैरहेको बताइन् ।
पहिले हामीबाट पत्राचार भएको होइन । यस बारेमा अध्ययन भैरहेको छ। उपयुक्त समयमा नेपाल सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्छौं, ढुक्क हुनुहोस्, लम्सालले भनिन्, एसपीपीको विषयमा सरकारले गरेको निर्णय प्राप्त भएको छ ।
अमेरिकाको युटा राज्यस्थित नेसनल गार्ड र नेपाली सेनाबीच साझेदारीको विषय बाहिरिएपछि त्यसले ठूलो राजनीतिक विवाद सिर्जना गरेको थियो । सरकारले असार ६ गते एसपीपी कार्यक्रममा संलग्न नहुने निर्णय गरेको थियो । त्यसैअनुसारको जानकारी परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई जनाउने निर्णय गरेको थियो ।
