काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माको शपथ ग्रहण बेलुका साढे ५ बजे हुने भएको छ । राष्ट्रपतिको कार्यलयले विज्ञप्तिमार्फत अर्थमन्त्रीमा शर्मा नियुक्ती भएको जनाएको छ । शर्माको शपथ ग्रहण बेलुका साढे ५ बजेलाई तय भएको छ । बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि असारको २२ गते सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेका थिए । समिति गठन भएसँगै २२ गते नै शर्माले राजीनामा दिएका थिए ।
शर्मामाथि छानबिन गर्न बनेको संसदीय अध्ययन विशेष समितिले उहाँलाई दोषी ठहर गर्न सकेको थिएन । समितिमा रहेका नेकपा एमालेका चार जना सांसदले फरक मत पनि राखेका छन् । प्रष्ट सीसीटीभी फुटेज नदिएको, शर्मा र अनधिकृत व्यक्तिको कल डिटेल हेर्न नदिएको लगायतका विषयमा एमालेका सदस्यले फरक मत राखेका छन् ।
विवादित व्यक्तिलाई पुनः मन्त्री पद सुम्पिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना भइरहेको छ ।
