बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाए विश्वासको मत – Himalayan Dainik

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाए विश्वासको मत


बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाए विश्वासको मत

लण्डन – बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन् । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उनले बहुमत आफ्नो पक्षमा पार्न सफल भएका हुन् । उनको पार्टी कञ्जरभेटिभका ३५९ जना सांसदमध्ये उनको पक्षमा २११ जना सांसदले मतदान गरेका थिए भने विपक्षमा १४८ जना सांसदले मतदान गरेका बीबीसीले जनाएको छ ।

उनलाई विश्वासको मत जित्नका लागि १८० मत ल्याए पुग्थ्यो । आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिएका थिए । जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ जना सांसद आवश्यक पर्नेमा ५४ जना सांसदको हस्ताक्षरसहितको पत्र अध्यक्ष ग्राहम ब्रेडीलाई हिजो बुझाइएको थियो ।

विश्वासको मतका लागि बेलायती समय अनुसार हिजो बेलुका ६ बजेदेखि ८ बजेसम्म मतदान भएको थियो । कोरोना महामारीका बेला मापदण्ड उल्लङ्घन गरेको र भोज आयोजना गरेको विषयमा जोनसनको आलोचना भइरहेको छ । लकडाउनमा भोजमा गएर नियम तोडेकोमा भने उनले माफी मागिसकेका छन् । एजेन्सी