काठमाण्डौंमा सातामै दुई गुणा तरकारीको भाउ बढ्यो – Himalayan Dainik

काठमाण्डौंमा सातामै दुई गुणा तरकारीको भाउ बढ्यो


काठमाण्डौंमा सातामै दुई गुणा तरकारीको भाउ बढ्यो

काठमाडौं – एक सातामै काठमाडौंको बजारमा  हरियो तरकारीको मूल्य दोब्बरभन्दा बढीले बढेको छ । स्थानीय बजारमा एक साताअघि ३५ रुपैयाँ केजीमा पाइने तरकारीको भाउ यो साता सयको हाराहारीमा पुगेको हो ।करेला, बोडी, भिन्डी, लौका, घिउसिमीलगायत हरियो तरकारीको मूल्य उच्च रुपमा बढेको छ ।

केही दिनअघि लगातार परेको झरीका कारण किसानले लगाएको तरकारी बाली नष्ट भएसँगै आपूर्ति कम भएकाले मूल्य बढेको विक्रेताहरु बताउँछन् ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार १ साताअघि प्रतिकिलो २० रुपैयाँ रहेको घिरौंलाको मूल्य शनिवार प्रतिकिलो ५५ रुपैयाँ कायम भएको थयिो । यसअघि २५ रुपैयाँ प्रतिकिलो रहेको तितेकरेलाको मूल्य अहिले ५५ रुपैयाँ प्रतिकिलो पुगेको छ । ३० रुपैयाँको भिन्डीको एक सातामाा ६६ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

वर्षाका कारण बारीमै तरकारी नष्ट हुनु तथा पहिरोले सडक अवरुद्ध भई बजारसम्म तरकारी ल्याउन नसक्दा पनि मूल्य बढेको तरकारी व्यवसायीहरुको भनाइ छ । सडक अवरुद्ध हुँदा गाडीमा लोड भएको तरकारीसमेत नष्ट भएर बाटोमै फाल्नु परेको कारण त्यसको असर मूल्यमा परेको उनीहरु बताउँछन् ।