आज गोपाल योञ्जनको ७९ औँ जन्मजयन्ती मनाइँदै – Himalayan Dainik

आज गोपाल योञ्जनको ७९ औँ जन्मजयन्ती मनाइँदै


आज गोपाल योञ्जनको ७९ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ – नेपाली सुगम संगीतका अग्रज गायक, संगीतकार एवं गीतकार गोपाल योञ्जनको ७९ औँ जन्मजयन्ती आइतबार परेको छ । तिथि अनुसार हरेक वर्ष जनै पूर्णिमाका दिन योञ्जनको जन्मजयन्ती मनाइँदै आएको छ । कोरोना महामारीका कारण यस वर्ष भने कुनै औपचारिक कार्यक्रम राखिएको छैन ।

गोपाल योञ्जनका ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘यो मेरो टोपी’, ‘जीवनका हरेक मोडमा तिमिले मलाइ भेट’, ‘बनेको छ पहराले यो छाती मेरो’, ‘देशले रगत मागे मलाई बली चढाउ’, मेरो गीत मेरै प्रतिबिम्ब होइन’ सहितका गीत लोकप्रिय छन् ।

उनले कान्छी, मायाप्रीति, बदलिदो आकाश, राँकोलगायतका चलचित्रका साथै दर्जनौं गीति नाटकहरुमा संगीत सिर्जना गरेका छन् । उनले निशानी ५२ नामक एकल गीत एल्वममा प्रकाशित गरेका थिए भने निशानी ५३ को तयारीका क्रममा विरामी भएपछि अधुरो रहेको एल्वम अरु नै गायकगायिकाको आवाजमा रेकर्ड गरि प्रकाशित गरिएको थियो ।

योञ्जनको जन्म विसं २००० भदौ १० जनैपूर्णिमाका दिन भारतको दार्जिलिङमा भएको थियो । उहाँको निधन २०५४ मा भएको थियो । योञ्जनलाई जनस्तरबाट संगीतसम्राटको उपमाबाट समेत सम्बोधित गरिँदै आएको छ ।