कोरोना फैलिएपछि पाँच स्थानमा सेना परिचालन – Himalayan Dainik

कोरोना फैलिएपछि पाँच स्थानमा सेना परिचालन


कोरोना फैलिएपछि पाँच स्थानमा सेना परिचालन

काठमाडौँ, १८ वैशाख – कोरोनाभाइरसको सङ्क्रमण विरुद्ध सचेतना फैलाउन झापाका पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले मेचीनगर, भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगन्ज र झापा गाउँपालिकामा सेनाले गस्ती गर्न शुरु गरेको जानकारी दिनुभयो । उहाँले ती पाँच स्थानीय तह भारतसँग सीमा जोडिएका स्थानीय तह भएकाले सीमा क्षेत्र भन्दा पाँच किलो मिटर उत्तर क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सपोर्टका लागि सेना परिचालन गरिएको जानकारी दिनुभयो ।

सशस्त्र नेपाल प्रहरीलाई थप सपोर्टका लागि सेना परिचालन गरिएको प्रजिअ तिमिल्सिनाले बताउनुभयो । सेनाको गस्ती मुख्यतः अनाधिकृत मानिस प्रवेशमा रोक लगाउने देखि कोरानाको कहरका समयमा आवश्यक सुरक्षाका लागि जनतालाई सचेतना जनाउने बताइएको छ ।

कोरोना फैलिएकै कारण जिल्ला प्रशासन कार्यालय झापाले आइतबार राति १२ बजेदेखि लागु हुने गरी एक साताका जिल्लामा निषेधाज्ञा जारी गरिसकेको छ ।