भक्तपुरमा खस्यो मेलम्चीको पानीः सांसद बस्नेतद्वारा उद्घाटन – Himalayan Dainik

भक्तपुरमा खस्यो मेलम्चीको पानीः सांसद बस्नेतद्वारा उद्घाटन


भक्तपुरमा खस्यो मेलम्चीको पानीः सांसद बस्नेतद्वारा उद्घाटन

भक्तपुर, ८ वैशाख – मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्यांकीमार्फत आजबाट भक्तपुरको मध्यपुर थिमी क्षेत्रमा मेलम्ची खानेपानी वितरण सुरु गरेको छ । नेकपा एमालेका केन्द्रीइ सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधीसभा सांसद र मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आज संयुक्त रुपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयलाई वितरण सुरु गरेको हो ।

स्थानीय वासिन्दालाई आजबाट दैनिक १० लाख लिटर मेलम्चीको खानेपानी वितरण गर्ने गरी उद्घाटन गरिएको हो । केहीदिन भित्रै मध्यपुर थिमी क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण हुने भएको छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधीसभा सांसद एवं पूर्वमन्त्री बस्नेतले धेरै मेलम्चीको पानी भक्तपुरका बासिन्दाका लागि दोश्रो फेजमा मात्रै वितरण गर्ने भनिए पनि आफूसहितको टोलीले गरेको पहलबाट पहिलो फेज मै आजबाट पानी वितरण गर्न सुरु गर्न सफल भएको बताउनुभयो । कृष्णप्रसाद भट्टराईको समयमा शुरुवात गरिएको आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको समयमा जनताले देख्ने, भोग्ने र प्रत्यक्ष अनुभव गर्ने गरी आजबाट भक्तपुरका जनताको घरघरमा पठाउन शुरु गरिएको उल्लेख गर्दै सांसद बस्नेतले जनप्रतिनिधि, कर्मचारी, सम्बन्धीत मन्त्रालय तथा स्थानीयवासीको विशेष पहलले गर्दा भक्तपुरमा मेलम्चीको खानेपानी झार्न सफल भएको बताउनुभयो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले भन्नुभयो, “पहिलो चरण मै भक्तपुरमा मेलम्चीको पानी झार्न हामी सफल भयौं, यो नेपाल सरकारको प्रभावकारी काम हो, तत्कालका लागि अब दैनिक ३० लाख लिटर पानी यहाँबाट वितरण हुन्छ, अब पानीको समस्या समाधान हुन्छ ।”

भक्तपुरमा आजको दिन ऐतिहासिक रहेको उल्लेख गर्दै सांसद बस्नेतले पहिलो चरणको पहिलो पटक नै मेलम्चीको खानेपानी भक्तपुरवासीलाई खुवाउन सफल भएको बताउनुभयो । भोलीका दिनमा खानेपानीको व्यवस्थापन गर्दा स्थानीयवासीको मागलाई अझ वढी सम्बोधन गर्ने गरी अगाडी बढ्नुपर्नेमा जोड दिँदै उहाँले पानीको चुहावट रोक्न मर्मत सम्भारलाई ध्यान दिनु पर्ने, बोडेबाट काठमाडौँ) जाने पानी रोकेपछि त्यसलाई थिमिमा वितरण प्रभावकारी बनाउनु पर्ने, पाण्डुबजार, अरनिको राजमार्ग, सर्भिस ट्रयांकको बाँकी काम पनि सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभयो ।

उहाँले मध्यपुरथिमी भित्र पनि लोकन्थली, कौशल्टार, गठ्ठाघर, बालकुमारी, चपाचो, नगदेशलगायतका पानीको अभाव भएको ठाउँलाई प्राथमिकतामा राखेर पानी वितरण गर्नु पर्नेमा जोड दिनुभयो । स्थानीयबासीको समस्या हल गर्दै जानु पर्नेमा जोड दिदै उहाँले नील बाराहीमा थप पानी ट्यांकी निर्माण गर्नुपर्ने, कर्मचारी नियुक्तीमा स्थानीयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मध्यपुरथिमी नगरपालिकाका प्रमुख श्रेष्ठले मेलम्चीको पानी पहिलो पटक काठमाडौंमा वितरण गरेको चैत १५ गते पछि आज थिमिमा यो पानी वितरण गर्ने दोश्रो महत्वको दिन भएको बताउनुभयो । मेलम्चीको पानी काठमाडौँ आउने कथा मात्रै हो भन्नेहरुलाई सरकारले पानी ल्याएर देखाइदिएको चर्चा गर्दै नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “अहिले मध्यपुरथिमिका बासिन्दाको लागि दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण सुरु भयो, अब केही दिनमै यसलाई बढाएर दैनिक ३० लाख लिटर पानी वितरण हुन्छ, अब बिस्तारै पानीको समस्या समाधान हुन्छ ।”

यहाँका बासिन्दालाई मेलम्चीको मिठो पानी खुवाउन निकै पहल गर्नु परेको स्मरण गर्दै उहाँले पानी वितरण प्रणालीलाई सुधार गर्नुपर्ने, र मध्यपुरमा समानुपातिक आधारमा पानीको वितरण हुने बताउनुभयो । मध्यपुरथिमी नगरपालिकाले यहाँका प्रत्येक गल्लीमा पुरानो पाइपको ठाउँमा नयाँ पाइप जडान गरेको, नगरपालिकाको करिब रु. ४ करोड, खानेपानी बोर्डको समेत गरेर रु. ६ करोडमा नयाँ पाइप लाइन बिस्तार गरेको भन्दै उहाँले रु. १९ करोडको लागतमा ट्रंक लाइन विस्तार गरेकोले मध्यपुर थिमिमा मेलम्चीको पानी चुहावट हुने सम्भावना निकै कम रहेको दाबी गर्नुभयो ।

बोडे टिगनीबाट काठमाडौँ अनामनगर पठाएको पानी मेलम्ची आए पछि रोकेर लोकन्थलीमा वितरण प्रणाली मिलाएको बताउनुभयो । नगर प्रमुख श्रेष्ठले काठमाडौँ उपत्यका भित्र वर्षौदेखि पानी नआएर हावाले मात्रै मिटर घुमाएको उपभोक्ताको जरिवनामा मात्रै नभइ सबै शुल्क मिनाहा गर्नुपर्ने औल्याउनुभयो ।

कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी प्रमुख मिलन शाक्यले मेलम्चीको पानी काठमाडौं झरेपछि ९० प्रतिशत पानी काठमाडौँमा वितरण भए पनि १० प्रतिशत पानी चुहावट भएको बताउनुभयो । पुरानो पाइप लाइनबाट पानी चुहावट हुने, पाइप फुटने गरेको बताउदै उहाँले ३२० ठाउँमा भएको चुहावट रहेको मध्ये २०० ठाउँको चुहावट रोकेको बताउनुभयो ।

काठमाडौँमा १०–१५ वर्ष पानी नआएको ठाउँमा पनि मेलम्चीको पानी वितरण गरेपछि पानी राख्ने ठाउँ नै भएन भनेर जनताले भनेको बताउदै उहाँले समानुपातिक रुपमा पानी वितरण गर्ने भनाइ राख्नुभयो । अब ल्याङ्ग्री र लार्केबाट थप पानी ल्याई तीनवर्ष पछि काठमाडौँमा दैनिक ३४ करोड लिटर पानी झारे पछि २४ सै घण्टा पानी वितरण गर्न सकिने उहाँको भनाई थियो ।

कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालयका कार्यक्रम निर्देशक कमलराज श्रेष्ठले १७ करोड लिटर पानी सिस्टममा आएपछि भक्तपुरको पुरनो सिस्टमबाट पानी वितरण सुरु हुने बताउनुभयो । मेलम्चीमा नियमित पानी आउने र यहाँ हिउँ पग्लेर समेत पानी आउने भएकाले अब पानीको समस्या नहुने दाबी गर्दै उहाँले आगामी तीन वर्षपछि नयाँ प्रोजेक्ट सकिएर व्यबस्थित रुपमा सबै ठाउँमा मेलम्चीको अन्तर्राष्ट्रिय गुणस्तरयुक्त पानी वितरण गर्न सकिने बताउनुभयो ।

उहाँले ५१ करोड लिटर पानी दैनिक उपलब्ध भएपछि पानीको सबै समस्या हल हुने बताउँदै त्यसपछि २४ सै घण्टा सबै ठाउँमा पानी वितरण गर्न सकिन्छ भन्नुभयो । टिगनी कै ३० लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण सम्पन्न हुने चरणमा रहेको भनाइ राख्दै यहाँ २ करोड भन्दा बढी लिटर पानी तान्न सकिने बताउनुभयो । खानेपानी कार्यालय मध्यपुर थिमीमा प्रमुख मनिष ढुङ्गानाले थिमीको पानीको समस्या अब समाधान हुने बताउनुभयो ।