ट्राफिकप्रहरीले चोरी भएका मोटरसाईकल सम्बन्धित सवारीधनीलाई जिम्मा लगाए – Himalayan Dainik

ट्राफिकप्रहरीले चोरी भएका मोटरसाईकल सम्बन्धित सवारीधनीलाई जिम्मा लगाए


ट्राफिकप्रहरीले चोरी भएका मोटरसाईकल सम्बन्धित सवारीधनीलाई जिम्मा लगाए

काठमाडौं ,२ बैशाख – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २६ वटा मोटरसाइकल/स्कुटर खोजतलास गरी सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको छ ।

काठमाडौं उपत्यकामा हुने सवारीसाधन चोरीका घटनालाई नियन्त्रण तथा त्यसमा संलग्‍न हुने व्यक्तिलाई कारबाही गर्ने कार्यलाई तीव्रता दिएको महाशाखाले १७ वटा मोटरसाइकल र नाै वटा स्कुटर बरामद गरी सवारीधनीलाई जिम्मा लगाएको हो।उपत्यकाका विभिन्‍न स्थान तथा धादिङ, चितवन, मकवानपुर, बारा जिल्लाबाट चोरी भएका उक्त मोटरसाइकलहरू खोजतलास गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बिहीबार सम्बन्धित सवारीधनीलाई जिम्मा लगाए।कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले महाशाखाले सवारीसाधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिइरहेको बताए। उनले भने, ‘अधिकांश मोटरसाइकल एकान्त तथा सुनसान स्थानबाट चोरी हुने गरेको पाइएको छ। चोरी भएका मोटरसाइकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाएर बेचविखन गर्ने गरेको पाइएको छ।’

यस आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजतलास गरी सवारीधनीलाई जिम्मा लगाइएको र चोरीमा संलग्‍न ४७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको महशाखाले जानकारी दिएको छ।