कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ – Himalayan Dainik

कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ


कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ

गोरखा, २८ वैशाख  – भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फार्म प्रालिका सञ्चालक भक्तबहादुर श्रेष्ठ र फार्ममा काम गर्ने रेशम श्रेष्ठ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मल बिक्रीको अनुमतिसमेत नभएको उक्त फार्मले किसानलाई प्रतिकिलो रु ३५ का दरले मल बिक्री गर्दै आएको प्रहरीले बताएको छ ।

सञ्चालक श्रेष्ठले फार्मको नामबाट मूल्यसूची टाँस नगरी अत्यधिक दरभाउ कायम गरी अनधिकृतरूपमा किसानलाई मल बेचेको भन्ने गुनासो आएपछि सदरमुकामबाट विशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले श्रेष्ठको फार्ममा रहेको ५३ बोरा रासायनिक मल भण्डारलाई समेत सिल गरी अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध कालोबजारी ऐन, २०३२ अन्तर्गत कानूनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।