पर्दापछाडिको आवाज : जसको स्वरमा बोल्छन् कलाकार – Himalayan Dainik

पर्दापछाडिको आवाज : जसको स्वरमा बोल्छन् कलाकार


पर्दापछाडिको आवाज : जसको स्वरमा बोल्छन् कलाकार

भानुभक्त फिल्ममा तित्राको आवाज चाहिएको थियो । तर, निर्देशक यादव खरेलले त्यो आवाज कतै पाएनन् । अनि उमेश मायालुलाई सम्झिए । उमेशले तित्राको आवाज हुबहु निकाले । बल्ल डबिङ भयो ।

त्यसपछि ‘के–के आवाज निकाल्न सक्छौ ?’ भनेर यादव खरेलले सोधे । उनले कोइली, काग, भंगेरा, परेवा, गाई, भैँसी, गोरु, बाख्रा, थुप्रै आवाज निकाल्न सक्ने बताए । उनले आवाज निकाल्दै गए, यादव खरेलले डब गर्न लगाइरहे । उमेशले दृश्य हेर्दै लगातार तीन दिनसम्म डब गरे ।

नीर शाहको— बसन्ती, सेतोबाघ । आकाश अधिकारीको— पंछी, कोहिनुर । दयाराम दाहालको— दशगजा, खरबपति । नवल खड्काको— भीमदत्त, आवाज । युवराज लामाको— देश–परदेश, गोरेटो, दुलहा राजा दुलही रानी, माउते दाइ, धर्मात्मा । तुलसी घिमिरेको— मृगतृष्णा । उनले चराचुरुंगी र अरूका आवाज क्यारिकेचर गरेका छन् ।

यति मात्रै होइन, राजेश हमाल र मनीषा कोइराला अभिनीत फिल्म ‘धर्मा’मा उमेश एक्लैले १५ जना कलाकारको भ्वाइस रेकर्ड गरेका छन् । बूढोदेखि जवान पात्रसम्मको डब गरेका छन् । सुनील थापा, दीपक क्षेत्री, रामचन्द्र अधिकारी, स्व. गोपालराज मैनालीजस्ता कलाकारहरूको आवाजसमेत डब गरेका छन् ।

क्यारिकेचरको उस्ताद हुन्, उमेश मायालु । क्यारिकेचरबाटै दर्शकको मन जितेका छन् । ५० वर्षीय मायालुले मिमिक्री गर्न थालेको ४० वर्ष भइसक्यो । उनी भन्छन्, ‘अरूको नक्कल गर्न औधी मन पथ्र्यो, नक्कल गर्ने बानीले क्यारिकेचर सिकायो ।’

 जागिर छोडेर अभिनयतिर
उमेश महेन्द्र पुलिस क्लबमा जागिरे थिए । त्यहाँ नृत्य, नाटक र क्यारिकेचर गरेर अभिनयको भोक मेटाउँथे । राजाहरूको जन्मोत्सवमा विविध सांस्कृतिक कार्यक्रम हुन्थ्यो । पुलिस क्लबका कलाकारले आफ्नो प्रस्तुति देखाउने अवसर पाउँथे । उनी भन्छन्, ‘मेरो आवाजको विविधता यस्तै कार्यक्रममा फुर्थ्यो ।’

बिस्तारै धमाधम फिल्म बन्न थाले । उनको क्यारिकेचरले मान्छेको ध्यान तान्न थाल्यो । स्व. राजुध्वज राणाले निर्देशन गरेको भिडियो चलचित्र ‘सागर’मा उनलाई अफर आयो । उनी भन्छन्, ‘क्यारिकेचर गरेरै म सेतो पर्दामा देखिने भएको हुँ ।’ बिस्तारै उनी सिनेमातिर प्रवेश गरे ।

बम्बईमा नेपाली आवाजमा डबिङ कसले गर्ने ? कोही थिएनन् । यादव खरेल र गोपालजी नेपाली मुड अफ भएर बसिरहेका थिए । उमेश टुप्लुक्क पुगे । निर्देशक यादव खरेल खुसीले झन्डै उफ्रिए । उनले उमेशलाई शिव भट्ट नामक ब्राह्मण पात्रको स्वर डब गराए ।

‘चेलीबेटी’ चलचित्र बन्ने भयो । प्रहरी निरीक्षक अर्जुनजंग शाही पुलिस क्लबमै नाटक गर्थे । अर्जुनजंगले चेलीबेटी फिल्ममा नायकको भूमिका निभाएका थिए । सो फिल्ममा निर्देशक यादव खरेलले उमेशलाई पनि सानो भूमिका दिए । यो नै ठूलो पर्दामा उनको पहिलो भूमिका थियो । त्यसपछि उनी यादव खरेलकै प्रेमपिण्ड, श्री स्वस्थानी, नासो, भानुभक्त, आँधीबेहरी, हत्तेरी, उगेन छोपेनको बादलपारिजस्ता चलचित्रमा हास्यकलाकार तथा चरित्र अभिनेताका रूपमा देखिए ।

आफ्नै डबिङ भने हरिवंशबाट
चलचित्रमा फाट्टफुट्ट अभिनय गरे पनि क्यारिकेचरप्रतिको मोह उस्तै थियो । उनी मौका पाउनेबित्तिकै क्यारिकेचर देखाइहाल्थे । मान्छेहरूको झुन्ड बनाइहाल्थे । यादव खरेलले ०५१ सालमा श्री स्वस्थानी फिल्म बनाए । त्यही फिल्मबाट राम्रो आवाज खोजेर डबिङ गर्ने चलन चलेको उमेश बताउँछन् । सो फिल्ममा उनले अभिनय गरे । तर, आफ्नै अभियनमा आवाज दिन भ्याएनन् । उनको डबिङ हास्यकलाकार हरिवंश आचार्यले गरे ।

श्री स्वस्थानीको सुटिङ सकेर उनी बम्बई गए । कलाकार बन्ने भूतले त्यहाँ पुर्‍याएको थियो । ‘म बलिउडमा कलाकार हुन पुगेको थिएँ,’ उमेश भन्छन्, ‘मेरो भूमिकामा मैले नै डबिङ गर्नुपर्ने थियो । तर, म बम्बई भएकाले मेरो डबिङ हास्यकलाकार हरिवंश आचार्यले गर्नुभएछ ।’

डबिङको केही काम बाँकी राखेर निर्देशक यादव खरेल र गोपालजी नेपाली मिक्सिङका लागि बम्बई पुगे । तर, शिव भट्ट नामक ब्राह्मण पात्रको डबिङ बाँकी थियो । गोपालजीले ‘यो डबिङ म गर्न सक्छु’ भनेपछि उनीहरू बम्बई गएका थिए । तर, सकेनन् ।

बम्बईमा नेपाली आवाजमा डबिङ गर्ने मान्छे पाएनन् । अनि यादव खरेल र गोपालजी बिआर चोपडाको स्टुडियोमा मुड अफ भएर बसिरहेका थिए । उमेश टुप्लुक्क पुगे । ‘मलाई बिआर चोपडाको स्टुडियोको गेटमा देखेर गोपालजी नेपालीले आँगालो नै मारे,’ उमेश सम्झन्छन् । निर्देशक यादव खरेल त खुसीले झन्डै उफ्रिए । उनले उमेशलाई शिव भट्ट नामक ब्राह्मण पात्रको स्वर डब गराए ।

एकछिन उनको आवाजको तारिफ नै भयो । त्यसपछि उनी जस्तो पनि डबिङ गर्न सक्छन् भन्ने हल्ला नेपाली फिल्म क्षेत्रमा चल्यो । उनको क्यारिकेचरबाट निस्किएको विविध आवाजले डबिङको काम पनि पाउन थाल्यो । अहिले पनि उनी अरूको डबिङ गर्न व्यस्त कलाकार हुन् ।

 सिरियलमा सुँगुरको आवाज 
‘द जर्नी टु दी वेस्ट चाइनिज’ टेलिसिरियल नेपाली भाषामा देखाइने भयो । यो निकै लामो सिरियल थियो । यसमा बाँदर र सुँगुरको आवाज चाहिन्थ्यो । दुवै जनावरको आवाज उमेशले नै दिए । यो एउटै सिरियल डबिङ गर्न उनलाई डेढ वर्ष लाग्यो ।

सिनेजोन स्टुडियोमा टेक्निसियन राजकृष्ण श्रेष्ठले उनलाई डब गराएका थिए । यसबाट चित्तबुझ्दो पारिश्रमिक पनि पाएका थिए । अहिले फेरि ३० भागको चाइनिज सिरियल डब गर्ने तयारीमा छन् । एक दिन खाली हुँदैनन् । उनी भन्छन्, ‘पहिलेको तुलनामा अहिले डब गरेरै राम्रै पैसा कमाउन सकिन्छ ।’

यति मात्रै होइन, उनले विज्ञापनमा पनि भ्वाइस रेकर्ड गरेका छन् । वेलकम मिडियाबाट बनेका धेरै विज्ञापनमा उनको आवाज छ । जस्तै– प्रभु बैंक, ड्र्यागन बेट्री, जोजो चाउचाउ, चिजबल । अरू लामो सूची बन्छ ।

 मुक्का खानेको आवाज
फाइटविनाका नेपाली फिल्म बिरलै छन् । फाइटमा एउटा नायक तर खलनायक धेरै हुन्छन् । खलनायक अर्थात् चल्तीको भाषामा गुन्डा । एउटा नायकले धेरै गुन्डालाई गोद्छ । गुन्डाहरूलाई नायकको मुक्काले दुखाउँछ । दुखेको पीडा पनि डब गर्नुपर्छ ।

औसत पाँच मिनेटको फाइट हुन्छ । गुन्डातिरका मान्छे धेरै हुन्छन् । उमेश एक्लै माइकअगाडि उभिन्छन् । अनि सबै पिटाइ खाने कलाकारको चोट लाग्दा निकाल्ने दुखाइको आवाज डब गर्छन् । त्यतिवेला आफैँ कुटाइ खाएको महसुस गर्छन् ।

औसत पाँच मिनेटको फाइट हुन्छ । उनी एक्लै माइकअगाडि उभिन्छन् । अनि सबै पिटाइ खाने कलाकारको चोट लाग्दा निकाल्ने दुखाइको आवाज डब गर्छन् । उनी भन्छन्, ‘फाइटरको आवाज दिँदा पिटाइ पाएझैँ महसुस गर्नुपर्छ ।’

प्रायः नेपाली फिल्ममा डब गरेको पैसा दिन मान्दैनन् । या त नयाँ मान्छेलाई सिकाइन्छ । कोही–कोही डब गरेपछि पैसा दिन अनकनाउँछन् । उनी भन्छन्, ‘खाजाको भरमा डब गर्दे भन्ने निर्देशक, निर्माता पनि छन् ।’ तर, उनको कुनै फिक्स रेट भने छैन । दुई हजारदेखि १० हजारसम्म लिएका छन् ।

डबिङ गर्दा कलाकारको अभिनय आफूले महसुस गरेर स्वर भर्नुपर्छ । अभिनय गर्ने कलाकारसँग स्वर पनि मिलाउनुपर्छ । उनी भन्छन्, ‘डब गर्दा सकस हुन्छ ।’ यस्तै सकस व्यहोर्नुपरेको थियो, भानुभक्त फिल्मको डबिङमा ।

एक पात्रले भानुभक्तलाई पत्र पठाएका हुन्छन् । भानुभक्तले पत्र हेर्दा पत्राचार गर्ने पात्रको आवाज आउनुपथ्र्यो । उनी भन्छन्, ‘एक्टर थिएन तर उसको पत्रका आधारमा आवाज दिँदा निकै गाह्रो भएको थियो ।’

 किन कलाकार आफैँले दिँदैनन् आवाज ?
भ्वाइस रेकर्ड गर्दा आवाज मात्र मिलेर हुन्न । आवाजसँग पर्दामा देखिने कलाकारको ओठको चाल पनि मिल्नुपर्छ । धेरै कलाकारले डबिङ गर्न नसकेर आफ्नो आवाज दिन पाउँदैनन् । कतिले लिप्सिङ मिलाउन नसकेर अरूको आवाजमा भर पर्नुपर्छ । तर, मायालु यो काममा पोख्त छन् । उनी एकै टेकमा आफ्नो आवाज कलाकारको ओठको चालसँग मिलाउँछन् ।

एकै दृश्यमा तीनजनाभन्दा बढी कलाकारको भ्वाइस उनले फरक–फरक आवाजमा दिँदै आएका छन् । उनी भन्छन्, ‘निर्मता, निर्देशकहरू मेरो आवाज खोज्छन् ।’पहिलो पुस्ताका कलाकारलाई भ्वाइस रेकर्ड गर्न गाह्रो थियो । अहिले सजिलो छ । उनी भन्छन्, ‘अहिले आवाज तानेर मिलाइन्छ, पहिला लिप्सिङ हेरेर मिलाउने गरिन्थ्यो ।’ त्यो गाह्रोपन डिजिटलले हटाइदिएको उनी बताउँछन् । त्यसो त नयाँ कलाकारका लागि पनि उनी फिट भइहाल्छन् । बोलाउनेबित्तिकै भ्वाइस रेकर्ड गर्न तुरुन्तै पुग्छन् ।