एनआरएनएको २७ युरोपेली शाखा हांक्ने आत्मबलका साथ तिमल्सिना मैदानमा – Himalayan Dainik

एनआरएनएको २७ युरोपेली शाखा हांक्ने आत्मबलका साथ तिमल्सिना मैदानमा


एनआरएनएको २७ युरोपेली शाखा हांक्ने आत्मबलका साथ तिमल्सिना मैदानमा

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका हुन् ।

आगामी अक्टोबर २३ देखि २५ सम्म नेपालमा हुने एनआरएनए अन्तरर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनको दौरानमा हुने निर्वाचनमा विभिन्न पदका आकांक्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक महत्वपूर्ण जिम्मेवारी हो ।

उनी नवौँ महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित भएका थिए । उनले संस्थाका समयसान्दर्भिक सवाललाई पूर्णता दिन आफूले उम्मेदवारी दिने राससलाई जानकारी दिए ।

धादिङबेँसी नीलकण्ठ–१४ स्थायी घर भएका उनी २० वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका छन् । सन् २००७ देखि एनआरएनएमा आवद्ध उनले एनआरएनए केन्द्रीय सदस्य (२०१५–०१७), संघको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवद्र्धनसम्बन्धी समितिको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

गैरआवासीय नेपाली संघ यूकेको सल्लाहकार (सन् २०१७) रहिसकेका उनी त्यसअघि गैरआवासीय नेपाली संघ यूके उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली सङ्घ यूके कार्यसमिति सदस्य (सन् २०११–०१३) को भूमिकामा थिए । त्यस्तै उनी सन् २०१७ देखि २०१९ को कार्यकालका लागि अध्यक्ष प्रत्यासी समेत रहेका थिए । एनआरएनए वर्तमान अध्यक्षदेखि पूर्वअध्यक्ष र संस्थाका सबै अभियानकर्मीसँग निकट सम्बन्ध रहेका उनको यूके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ । चुनावी अभियानमा जुटेको र नेपालमै आएर छिट्टै औपचारिकरूपमा प्रतिबद्धना सार्वजनिक गर्ने उनले जानकारी दिए ।

त्यसैगरी एनआरएनएको युरोप क्षेत्रीय उपसंयोजक पदमा सागर लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । काभ्रेपलाञ्चोक स्थायी घर भएका लामा लामो समयदेखि आयरल्याण्डमा बसोबास गर्दै आएका छन् । सन् २००३ देखि संस्थामा आवद्ध उनको विभिन्न व्यवसायमा लगानी छ । हेल्प नेपाल नेटवर्क आयरल्याण्डको संयोजक भइसकेका उनी अहिले हस्तकला व्यवसायमा आवद्ध छन् । रासस