काठमाडौँ, १३ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस रोकथामका लागि घरमै बस्न अपिल गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज एक सन्देश जारी गर्दै उनले घरमै बसेर सरकारले जारी गरेको निर्देशन र आचारसंहिता पालना गर्न अपिल गर्नुभएको हो ।
राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ, ‘यस परिवेशमा वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर राख्दै हरेक नागरिकले सरकारका आधिकारिक निकायहरुले जारी गरेका निर्देशन एवं आचारसंहिताहरु पालना गर्दै घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न म हार्दिक आह्वान गर्न चाहन्छु । ‘यस समयलाई हामी सबैले मुलुकको अर्थतन्त्रलाई स्वावलम्बी र आत्मनिर्भर बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान र चिन्तन मनन गर्ने काममा समेत सदुपयोग गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।’
राष्ट्रपति भण्डारीले कोरोनाविरुद्ध लड्न स्वास्थ्यसम्बन्धी भौतिक पूर्वाधार तथा प्राविधिक तयारीसहित आवश्यक प्रबन्ध मिलाउन संघ, प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ ।